विराटनगर / लागु औषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ का २९ वर्षीय रोशन राई रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार निजलाई एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने।गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको हो ।
इलाम नगरपालिका–९ का २५ वर्षीय विकास बसेलसहित तीन जनालाई अवैध लागु औषध खैरो हेरोइन ३७ ग्राम पाँच सय मिलिग्राम र डिजिटल तराजु एक थानसहित गत २६ साउनमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान एवं सोधपुछका क्रममा उक्त लागु औषधको कारोबारमा रोशन राईसमेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रियता खोजतलास एवं पक्राउ गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत २५ पुसमा राईविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता ढकालले बताए ।
पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post