बेलबारी – मोरङको बेलबारीमा बुधबार बिहानका राति एक जना वृद्ध पुरुषले श्रीमतीको बीभत्स हत्या गरेका छन् ।
श्रीमतीको हत्यापछि ती पुरुष आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरेका हुन् । त्यसपछि बमबहादुर आफूले पनि आत्महत्या गरेको दाहालले बताए ।
प्रहरीका अनुसार लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएका थिए । उनीहरुको स्थायी ठेगाना खुल्न बाँकी छ ।
डीएसपी दाहालका अनुसार बिहान १ः४० बजेतिर दाउले प्रहार गरेर बमबहादुरले श्रीमतीको हत्या गरेका हुन् । दाउ प्रहारबाट गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यापछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए ।इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई फेला पारेको थियो । दाहाल नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएका उनलाई विराटनगरको नोबेल अस्पताल ल्याइपुर्याउनसाथ बिहान ३ः२० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
प्रहरीले घटनामा प्रयोग भएको दाउ बरामद गरिसकेको छ । हत्या र आत्महत्याकै रूप लिने गरी श्रीमान–श्रीमतीबीच के विषयमा विवाद भएको थियोभन्ने यकिन भइसकेको छैन । डीएसपी दाहालले अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी दिए ।
गीताको शवलाई सुरक्षा दिएर प्रहरीले घटनास्थलमै राखेको छ ।
आफन्त आइपुगेपछि कानुनी प्रक्रिया पूरा गर्दै पोस्टमार्टमाका लागि पठाइने प्रहरीले जनाएको छ । बमबहादुरको शव भने पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा पुर्याइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको खुलेको छ । उनीहरुका ८ वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ । इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post