ऋषिबहादुर राई, उदयपुर । जिल्लाको कटारी नगरपालिकामा पर्ने सामुदायिक वन क्षेत्रबाट काठ काट्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । विहिबार राती डिभिजन बन कार्यालय त्रिवेणी कटारीले सुगाजोर सामुदायिक वन उपभोक्ता समूह कटारी ५ को वन क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नम्बर १ बाख्रीचरणका २१ वर्षिय विकास मगर र सिरहाको गोलबजार नगरपालिका घुर्मीटोलका २४ वर्षिय कृष्ण लिम्बु रहेका छन् । वन क्षेत्रमा काठ तस्करी भईरहेको सुचना पाएपछि वन कार्यालय तथा शशस्त्र वेश क्याम्प कटारीको संयुक्त गस्तीले काठ काट्दै गरेको अवस्थामा काठ सहित दुई जनालाई पक्राउ गरेको डिभिजन वन कार्यालय कटारीका प्रमुख बन अधिकृत विष्णुलाल घिमिरेले बताउनु भयो ।
घिमिरेका अनुसार साखु जातको काठ काट्दै गरेको अवस्थामा १८ थान चिरान काठ सहित दुवैजनालाई पक्राउ गरिएको हो । त्यसैगरी काठ काट्ने दुईथान पेट्रोलबाट चल्ने औजार समेत वरामद गरिएको पनि बन कार्यालयले जनाएको छ ।
उदयपुरको पश्चिमी क्षेत्रको दक्षिणी भेगमा पर्ने चुरे वनक्षेत्रमा लामो समयदेखि काठ तस्करी गरी तराईका जिल्ला हुँदै भारतसम्म निकासी हुने गरेको उपभोक्ता समूहका सदस्यहरु बताउँछन् । पछिल्लो समय काठ काट्नका लागि आधुनिक औजार लिएर रातको समयमा चुरे क्षेत्रमा काठ तस्करहरु आउने गरेको सुचना पाएपछी वन कार्यालयले राति नै गस्ति खटाई रंगेहात तस्कर पक्राउ गरेको हो ।
पक्राउ गरिएको क्षेत्रमा दुईवटा रुख काटिएको पाईएको पनि वन कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान अघि बढाई कार्वाही गरिने पनि कार्यालयले जनाएको छ ।
Discussion about this post