उदयपुर । जिल्लाको कटारी–३ राजावासका स्थानीयवासीले ६ महिनाका लागि फोहर विसर्जन स्थलमा फोहर फाल्न दिने भएका छन् । पटकपटक फोहर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आन्दोलित स्थानीयवासी नगरपालिकासँगको पटक पटकको वार्तापछी ६ महिनाका लागि फोहोर फाल्न दिने भएका हुन् ।
स्थानीयले फोहोर फाल्न दिने भएपछी एकमहिनापछी नगरपालिकाले कटारीबजारबाट फोहोर उठाएर फाल्न थालेको छ । स्थानीय देव ढुंगेलका अनुसार फोहोर विसर्जन स्थलमा चारैतिर घेरावेरा गर्नुपर्ने , हप्तामा दुईपटक किटनाशक औषधि छर्नुपर्ने , महिनामा दुईपटक माटोले पुर्नुपर्ने , प्रभावितलाई निशुल्क स्वास्थ्य वीमा र औषधि उपचारको व्यवस्था लगायतकका विषयमा सहमति भएको छ ।
त्यसैगरी सुपानेट झुल वितरण , निशुल्क पानी तथा सडकवत्ती , पीडितहरुलाई रोजगारीको व्यवस्था , , फोहोरको वर्गीकरण , फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने तालिम दिनुपर्ने लगायतकका सहमति भएको छ । सर्तहरु पुराभएपछी ६ महिनाका लागि फोहोर फाल्न दिने र त्यसपछी अन्यत्र फोहोर विसर्जन स्थल बनाउनुपर्ने सहमति भएको छ ।
सहमतिमा नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गीता खड्का , वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्का र ४ का अध्यक्ष भुपेश तामाङ्गले हस्ताक्षर गरेका छन् । यसअघि नगरपालिकाले अन्यत्रै फोहर विसर्जन स्थलको खोजी गर्ने सहमति भएपछि १५ दिनअघि फोहर फाल्न दिएको स्थानीयवासीले नगरपालिकाले तदारुकता नदेखाएको भन्दै फेरि १७ पुषदेखि फोहोर फाल्न रोक लगाएका थिए । गएको १९ मङ्सिरमा फोहर फाल्ने ठाउँ अन्यत्र सार्न माग गर्दै नगरपालिकामा स्थानीयवासीले ज्ञापनपत्र बुझाएका थिए ।
पटक पटक राजावासबाट फोहर विसर्जन स्थल अन्यत्र हटाउन नगरपालिकामा मौखिक तथा लिखितमा गर्दा समेत सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । राजावासमा बस्ती नजिकै जथाभावी फोहर फाल्दा स्थानीयवासीले समस्या हुने गरेको बताउँदै आएका छन् । बजार नजिकै अव्यवस्थित तवरले फालिएको फोहरका कारण राजावास गाउँका गाउँलेले समस्या भोग्नुपरेको टोल विकास संस्थाका अध्यक्ष अधिकारीले बताउनुभयो । बजार नजिकै फालिएको फोहरका कारण बजारमा प्रदूषण बढ्ने गरेको छ । फोहर फैलिएको ठाउँ नजिकै सशस्त्र बेसक्याम्प, बौद्ध गुम्बा र बस्ती छ । फोहर फैलिएको खोलापारि कटारी बजार छ ।
Discussion about this post