अमर काफ्ले, इनरुवा । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रपतिमा सबैले स्वीकार गर्ने व्यक्ति चयनकालागि प्रचण्ड सरकारलाई पार्टीले समर्थन दिएको बताउनु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाका विशेष पात्र मानिने कार्कीले सम्मानित संस्थाको नेतृत्व सबैले स्वीकार गर्ने हुने विश्वासका आधारमा नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन दिइएको बताउनु भएको हो ।
सुनसरीको हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा कार्कीले सो कुरा बताउनु भएको हो । वहाँले भन्नु भयो, ‘राष्ट्रपतिमा मैले खडा गरेको व्यक्तिलाई भोट दियो भने मात्रै राष्ट्रिय सहमति हुन्छ भन्ने त्यो बालहठ हो । त्यो बालहठले मुलुक अगाडी बढ्न सक्दैन ।’
वहाँले थप्नु भयो, ‘अहिले यो सम्मानित संस्थाको नेतृत्व सबैले स्वीकार गर्ने व्यक्तिले गर्नु पर्दछ । र त्यो व्यक्ति नेपाली कांग्रेस भित्रै छ भन्ने कुरा समेत निवेदन गर्न चाहन्छु । त्यही कारणले प्रतिनिधि सभाको बैठकमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै गर्दा हामीले विश्वासको मत दिएका हौं ।’
वर्तमान सरकारमा कांग्रेसको सहभागिता बारेको प्रशंग कोट्याउँदै नेता कार्कीले कांग्रेस सत्ताको पछि नलाग्ने तर सत्ता आफैं कांग्रेस खोज्दै आइपुग्ने बताउनु भयो । वहाँले घुमिफिरी सत्ता कांग्रेसकै हातमा आउने दावी समेत गर्नु भयो ।
Discussion about this post