धरान – सुनसरीको धरानमा घाँटी रेटेर हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले २४ घन्टा नबित्दै पक्राउ गरेको छ । बुधबार धरान १८ स्थित खोल्सीमा धरान १६ की २१ वर्षीया सुमना श्रेष्ठको शव बीभत्स अवस्थामा फेला परेको थियो ।
घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार सुमनाको हत्या भएको प्रहरीले जनाएको थियो ।
हत्यामा संलग्नहरूको खोजी गर्ने क्रममा प्रहरीले बिहीबार (हिजो) दिउँसो ४ बजेतिर धनकुटाको मुलघाटबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान रेल्वेलाइनमा बस्दै आएको सबिन भुजेलसहित छजना छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भुजेललाई धनकुटाको मुलघाटबाट र अन्य ५ जनालाई धरानकै विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
‘घटनामा मुख्य संलग्नता भने सबिनको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि शुक्रबार (आज) जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइनेछ ।
अनुसन्धानपश्चात शुक्रबारै पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरिने प्रहरीको तयारी रहेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
‘आज म्याद थप गरेपछि घटनामा संलग्नलाई सार्वजनिक गर्छौँ,’ प्रहरी अधिकृतले भने, ‘घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’
घटनामा क–कसको संलग्नता रहेको छ भन्नेबारे अनुसन्धानले देखाउने उनको भनाइ छ । प्रहरीले यसअघि घटनामा संलग्नको पहिचानका लागि तालिम प्राप्त कुकुरकोसमेत प्रयोग गरेको थियो ।
बुधबार दिउँसो साढे २ बजेतिर स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन् ।
<span;>खोल्सामा घोप्टो अवस्थामा शव भेटिएको थियो । शव भन्दा केही मिटर दुरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको थियो ।
Discussion about this post