प्रकाश तिम्सिना, इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनलाई लिएर नेपाली काङ्ग्रेस इटहरी भित्र विवाद चुलिएको छ । पार्टीका शिर्ष नेताहरु नै आ आफ्ना नजिकका ब्यक्तिलाई समर्थन गर्न उत्रिएपछि विवाद चरम उत्कर्षमा पुगेको हो ।
आगामी माघ २८ निर्वाचनमा पार्टीले कसलाई आधिकारिक रुपमा निर्णय गरिनसक्दै जीवन पराजुली, गायत्री कटवाल र पिताम्बर पोख्रेलले उम्मेदवारी दर्ता गराएसगैं विवाद सतहमा आएको हो । पराजुली र कटवालले प्यानल नै खडा गरेपछि पार्टीका स्थानीय कार्यकर्ता देखि केन्द्रिय नेता नै दुईधारमा देखा परेका छन् ।
शुक्रबार नेपाली काङ्ग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले कटवालको समुहलाई विजयी गराउन भन्दै आधिकारिक घोषणा नै सार्वजनिक गरेका थिए । तर त्यसको केही समय नबित्दै काङ्ग्रेसका नेता विकास केसीले सामाजिक सञ्जालमा नगर समितिले गरेको कुनै निर्णय आधिकारिक नहरेको स्पष्ट पारेका थिए ।
जसका कारण ब्यापारीहरुको चुनावमा नेपाली काङ्ग्रेस इटहरीका नेता दुईधारमा परेका छन् । नगरसभापति हेमकर्ण पौडेल, इटहरी उद्योग बाणिज्य संघ इटहरीका पुर्व अध्यक्ष रोहीत प्रसाई लगायतले कटवाललाई समर्थन गरेका छन् । यता जीवन पराजुलीको पक्षमा विकास केसी, उद्योग बाणिज्य संघ इटहरी अध्यक्ष भिम बहादुर पौडेल, पुर्व अध्यक्ष टंक दुलाल देखिएका छन् ।
यसरी पार्टी भित्र चरम विवाद देखिएपछि उनीहरु एकअर्कामा आरोप प्रत्यारोपमा निस्किएका छन् । नेपाल विद्यार्थी संघका पुर्व उपसभापति विकास केसी गायत्री कटवालको समुहलाई नगरसभापतिले भोट माग्नु लज्जाको विषय भएको बताउँछन् । ब्यापारीको नेतृत्व छान्ने विषयमा पार्टीको हस्तक्षेपले ब्यापारीको निर्वाचन भन्दा पनि राजनितिक दलको निर्वाचन जस्तै भएको उनको भनाई छ । यो त नौलो अभ्यास भयो, कुनै पनि राजनितिक दलले यसरी घोषणा गर्नु गलत हो केसीले भने ‘शनिबार १२ बजे सम्ममा देखिएका समस्याबारे पत्रकार सम्मेलन गरेर स्पष्ट गर्छाै ।’
यता पुर्व अध्यक्ष प्रसाई भने पार्टीले गरेको निर्णयलाई स्वीकार गर्नु पर्ने दाबी गर्छन् । पार्टी भित्र वर्षाैसम्म बस्ने तर नेतृत्वमा पुग्ने बेला पार्टीको निर्णय मान्दिन भन्नुले आफूलाई धात हुने उनको तर्क छ । साथै ब्यापारीको छाता संगठन भएकाले ब्यापारीहरुको प्रतिनिधित्व हुने गरी नेतृत्वमा आउनु पर्ने प्रसाईको भनाई छ । अहिले को आधिकारिक भन्ने होड चलेको छ, म त भन्छु जसले ब्यापारीको समस्या हल गर्न सक्छ । उहि नेतृत्व कर्ता हो प्रसाईले भने ‘यसलाई ठुलो बनाएर विवाद गर्ने ठाउँ देख्दिन तर सबैलाई नेतृत्वमा पुग्ने आसले दाबी गर्नुलाई स्वभाविक ठान्छु ।’
Discussion about this post