टीका खतिवडा
इलाम – चियामा भारतको एकाधिकार तोडिने भएको छ । चाइनाबाट आएका चिया व्यवसायीद्धारा इलामका विभिन्न चिया उद्योगबाट एक लाख किलोग्राम बढी चिया अर्डर गरेसँगै भातको एकाधिकार तोडिने भएको हो ।
चिया बगान र उद्योगको भ्रमण पछि चाइनिज चिया व्यवसायी द्वारा यहाँको चिया अर्डर गरेका हुन् । उनीहरूले स्थलगत अनुगमनपछि इलामका उद्योगमा उत्पादित चियाको माग गरेका हुन् ।
इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा चाइनाबाट नेपाल आएका चिया व्यवसायीहरू केही दिन देखी इलाममा नै रहेर यहाँको चिया गुणस्तरीय भएको चर्चा गरे । उनीहरूले किसानको घर, चियाबारी र उद्योगहरूको समेत स्थलगत अनुगमन गरेसँगै नेपालको चिया गुणस्तरीय भएको बताएका हुन् ।
अनुगमनकै क्रममा देउमाई नगरपालिका र इलाम नगरपालिकाका विभिन्न चिया उद्योग र चिया किसानसँग उनीहरूले भेट गरेका थिए ।
उनीहरूलाई इलामसम्म ल्याउनका लागि चिया व्यवसायी चिरन दाहालले समन्वय गरेको बताइएको छ । काठमाण्डौमा रहेर चियाको व्यवसाय गरिरहेका व्यवसायी दाहालले चाइनाबाट आएका चिया व्यवसायीले नेपालको चियाको अध्ययन समेत गरेको बताए । नेपालको चियासँगै संस्कृति र परम्परा समेत चाइनिजले मन पराउन थालेका छन् । आएको टोलीले चिया खरिद गर्ने मात्र नभई चाइनामा भएको चियाको सम्भावना र नेपालसँग चियाका व्यवसायी र किसानसँग सहकार्य गर्नका लागि समेत सो टोली आएको बताइएको छ ।
चाइनामा चियाको बजार विस्तार गर्न समेत सो टोलीले सहयोग गर्ने यहाँका व्यवसायीको अपेक्षा छ ।
एक महिना अघि समेत चाइनाबाट चिया अवलोकनका लागि सोही टोली नेपाल आएको र पुन दोस्रो पटक आएर चियाको अर्डर गरेको इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल कृष्णले बताए । उनका अनुसार पुन चिया उद्योगी सहित किसानको टोली नेपाल आउने जनाइएको छ ।
चियाको पहिलो टिपाइ सुरु हुनै लाग्दा चाइनाबाट आएको टोलीले चियाको अवलोकन र चिया अर्डर गरेपछि नयाँ उत्साह प्राप्त भएको उनको भनाई छ ।
इलाम नगरपालिकाले यस अघि देखी नै यसका लागि पहल गरिरहेको प्रमुख केदार थापाले बताए । उनले यस अघि विभिन्न चिया, उद्योगी र व्यवसायी हरूसँग छलफल गरेको भन्दै पछिल्लो समय चाइनाबाट चिया नै माग भएको बताए । उनीहरूले चियाको अर्डर नै गर्न थालेपछि चियामा नयाँ आशा किसानसम्म पुगेको उनको भनाई छ ।
चाइनाबाट आएको पाँच जनाको टोलीले दुई पटको अवलोकन र चियाको स्वाद लिइसकेपछि इलामको थिया उच्च गुणस्तरको रहेको बताए । उनीहरूले इलाम नगरपालिका र देउमाई नगरपालिकाका विभिन्न चिया उद्योगको भ्रमणपछि यहाँको चिया गुणस्तर भएको बताए ।
चाइनाबाट नेपाल आएको सो टोलीले नेपालको चियाको गुणस्तरको परीक्षण समेत गर्ने चाइनिज टोलीका गोञ्जाओलेबताए । उनले नेपाली चिया गुणस्तरको भएको बताउँदै यस अघि आक्कल झुक्कल रूपमा मात्र नेपाली चिया चाइना पुग्ने गरेको सुनाए ।
भ्रमणका समयमा यहाँ उत्पादित चिया अर्ग्यानिक समेत हुने गरेको भन्ने थाहा पाएको भन्दै चाइनाले विशेष गरेर यस्तै चिया पिउन रुचाउने गरेको उनको भनाई छ ।
खास गरेर नेपालमा उत्पादन भए मध्येका पनि चाइनामा ९ब्ल्याक टी० कालो चियाको माग उच्च रहने बताइएको छ । रुवी ब्ल्याक चिया चाइनिजले बढी मन पराउने भएकाले पनि सो चिया चाइना निर्यात गर्न सजिलो हुने बताइएको छ ।
अब भने चिया बगान, चिया उद्योगी, किसान र उद्योगकै अवस्था समेत नियाल्न पाएकोमा खुसी व्यक्त गर्दै सो टोलीले पुन गुणस्तरको चिया उत्पादन गर्न सुझाव दिएका छन् ।
हालसम्म नेपालकै लोगो भएर पनि अन्तर्राष्ट्रिय बजारमा पुग्न समस्या भइरहेको चियाको बजार अब सहज हुने अपेक्षा लिइएको छ ।
हालसम्म चियामा भारतको एकाधिकार तोडिने भएको भन्दै नेपाली चिया व्यवसायीहरू उत्साही भएका छन् । एक तथ्याङ्क अनुसार नेपालमा उत्पादन भएको चिया मध्ये करिब ८० प्रतिशत भारतमा जाने गरेको थियो । भारतले समेत विभिन्न बहानामा नेपालको चियामा अवरोध गर्दै आएको थियो ।
कतिपयले नेपालको चिया भारतमा जाने र भारतको लोगोमा बाहिर निर्यात हुने गरेको बताइने गरिएको छ । भारतको चिया उच्च गुणस्तरको नभएका कारण पनि भारतले नेपालबाट चिया लगेर आफ्नो लोगोमा पठाउने गरेको एक थरी चिया व्यवसायीहरूको आरोप छ ।
बाँकी रहेको १० प्रतिशत तेस्रो मुलुक र १० प्रतिशत नेपालमा नै खपत हुने गरेको जनाइएको छ । इलाम आएको सो चाइनिज टोलीले नेपालका विभिन्न चिया उद्योगमा उत्पादित चियाको स्वाद समेत लिएका छन् । नेपाली चियाको स्वाद फरक र गुणस्तरीय भएको चाइनिज टोलीको भनाई छ । सो टोलीले सिजनको चियाको मुना पलाउनु अगावै चियाको बोट देखी उद्योगसम्म पुगेपछि नयाँ आशा पलाएको यहाँका किसान तथा उद्योगीको भनाई छ ।
Discussion about this post