आगामी माघ २८ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनले इटहरीका व्यवसायी बीचमा माहोल तातिएको छ । विगतका वर्षहरुमा पार्टीगत प्रतिस्पर्धा हुने गरेको देखिएको भएपनि यस पटक भने आस्थावान पार्टीको निर्णय अस्वीकार गर्दै नेपाली काङ्ग्रेस पार्टीमा आबद्ध रहेका जीवन पराजुली आफ्नो समुह नै बनाएर चुनावमा होमिएका छन् । पराजुलीलाई नेपाली काङ्ग्रेस इटहरी नगर समितिको इतर समुहले सहयोग गर्ने स्पष्ट देखिएको छ । पराजुलीलाई वर्तमान् वाणिज्य संघ इटहरीका अध्यक्ष भिभ बहादुर पौडेल, पुर्व अध्यक्ष टंक दुलाल,महाधिवेशन प्रतिनिधि बिकास केसी लागायत नेताले समर्थन गरेका छन् ।
पराजुलीको समुहलाई नेकपा माओवादी केन्द्र,राप्रपा नेपाल,एकिकृत समाजवादी लगायत अन्य केही पार्टीमा आस्थावान व्यावसायीले समर्थन गरेका छन् । पराजुली लामो समय देखि होटल व्यवसायमा सक्रिय रहँदै वर्तमान कार्यसमितिको अध्यक्ष पदमा रहेर काम गरिरहेका छन् । यसका अतिरिक्त तरहरा जेसिजको २०१३ को शाखा अध्यक्ष तथा नेपाल जेसिजको २०१४ मा राष्ट्रिय उपाध्यक्ष समेत भइसकेका छन् । पराजुली लायन्स क्लब अफ इटहरी सिटिको २०१८ को अध्यक्ष समेत बनिसकेका छन । २२ वर्षको उमेर देखि व्यवसायमा होमिएका पराजुली अहिले पर्यटन क्षेत्रमा समेत सक्रिय रहेका छन् । इटहरीमा होटेल इन्टुरिष्ट प्यालेस,यमाहा शोरुम,बुलेट बाइको शोरुमको समेत सञ्चालकको रुपमा रहेका छन् । उद्योग बाणिज्य संघ इटहरीमा अब प्रष्ट रुपमा दुइ धार देखिएको छ । यही संन्दर्भमा आगामी निर्वाचनको तयारी के कसरी भईरहेको लगायत विषयमा प्रदेश खबरका संवाददाता प्रकाश तिम्सिनाले अध्यक्ष पदका उम्मेदवार जीवन पराजुली सँग गरेको सम्पादित कुराकानी :
तपाईले उम्मेदवारी दर्ता गराएसगैं व्यवसायीको प्रतिक्रिया कस्तो छ?
जब भोटमाग्न हिड्न हिजो अस्तिबाट सुरु गरें । साथीहरुले निर्वाचन धेरै खर्चालु, भयो भन्ने गुनासो गर्नु भयो । धेरै कुरामा त्रसित भएको पाएँ । सवारी पार्किङ,बैंकले चर्काे ब्याज, करको समस्या जस्ता विषयको बारेमा चिन्ता गरिरहदा उहाँहरुले इटहरीमा एउटा कुशल नेतृत्व खोजेको महशुस मैले गरेँ।
बैंक ब्याज, कर र सवारी पार्किङको समस्या मुख्य गरी देखिएका छन् । अहिलेको नेतृत्वले किन काम गर्न सकेन ?
काम धेरै भए तर प्रचार भएन । म पनि बोर्डमा थिएँ । २ वर्ष त कोभिड नै भयो । त्यही समयमा व्यपारीका लागि भनेर इटहरी उपमहानगरलाई ३ हजार खोप ल्याइएको थियो । तर नगरले खोप लगाउन दिएन । अध्यक्ष ज्युले जिल्लामा लगेर नै खोप लगाउनु भयो । अक्सिजन नपाउने अवस्थामा उहाँले हिम्मत गरेर एउटा आइसोलेसन खोल्नु भयो । उद्योग बाणिज्य संघले इटहरी उपमहानगरलाई ब्यावसायीको करबाट ४० लाख बराबरको शौचालय हस्तान्तरण गरेको छ ।
उद्योग बाणिज्य संघले हस्तान्तरण गरेको सौचालयमा व्यवसायी आफैले बिरोध गरे, किन नि ?
बाहिरबाट आउने पर्यटकले इटहरीमा सार्वजनिक शौचालय पाएनन् भन्ने बजारमा गुनासो आयो । अध्यक्षज्यूले त्यति बेलै शौचालय बनाउँछु भन्नु भएको थियो । उपमहानगरसगँ धेरै पटक आग्रह, अनुरोध गरियो । तर, निर्वतमान जनप्रतिनिधिले कुनै वास्ता गर्नु भएन । घोषँणा पत्रमा भएको काम पुरा गर्नु पर्ने बाध्यता थियो । त्यही अनुसार ल्याइएको हो । आउने पर्यटक तथा यात्रुले सार्वजनिक शौचालयको उपभोग गर्न पाउन् भन्ने उद्देश्य थियो, तर पछि गलत ब्याख्या भयो ।
तपाई आवद्ध रहेको नेपाली कांग्रेसले त अध्यक्ष पदका अर्कै ब्यक्तिलाई समर्थन गर्यो नि ?
क्यान्डिडेटमा समस्या छैन । उम्मेदवार बोकेर हिड्नेमा समस्या छ । बजारमा यो हल्लाले व्यपारी साथीहरु निरास देखिनु भएको छ । एउटै उम्मेदवार आउनु भएको भए राम्रो हुने थियो, आम साथीहरुको भनाई छ । संस्थाको गरिमा अलि भएन कि भन्ने प्रश्न खडा भएको छ । मैंले सबै दललाई मिलाएर सहमति अनुसार नै जाउँ भनेको हो । तर कोही साथीहरु पनि सहमतिमा आउनका लागि तयार हुनु भएन । म सात महिना देखि तयारीमा थिएँ । जो अहिले उम्मेदवार हुनु भएको छ उहाँलाई सम्मान गर्छु, तर सहमतिमा मिल्नु भएको भए वा आफ्नो अडानमा लचिलो हुनु भएको भए जित निकाल्न सहज हुने थियो ।
उद्योग बाणिज्य संघको निर्वाचन धेरै खर्चिलो भन्ने गुनासो सुन्ने गरिन्छ । यदि तपाई नेतृत्वमा पुग्नु भयो भने यसलाई कसरी हटाउनु हुन्छ ?
दुई कार्यकाल देखि नै यो ट्रेन्ड बस्न थालेको हो । यो व्यवसायीको स्वतन्त्र संस्था हो । यदि म जितेर गएँ भने यो प्रथाको अन्त्य गर्छु । टेक्निकल पाटो छ । हामीलाई किन ८ हजार सदस्य चाहियो । वास्तविक मात्रै राखौं भन्ने माग हो । आगामी दिनमा सामान्य लगानी गरेर व्यवसाय सञ्चालन गरेका साथीहरु त्यहाँ बसेर काम गर्ने प्रबन्ध म मिलाउँछु ।
चुनावी एजेन्डा के के छन् ?
व्यवसायीहरुलाई करको समस्या छ । पार्किङ्को समस्या छ । व्यवसायीमैत्री कुनै प्रकारको तालिम भएको छैन । जसका कारण नवप्रबेशी व्यवसायी साथीहरुलाई व्यवसायमा आर्कषण गराउन सकिएको छैन । उद्योगी व्यवसायीको यावत समस्यालाई सम्बोधन गर्ने व्यवस्था मिलाउने छु । साथै, उद्यमी महिलाहरुले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउनका लागि बिभिन्न प्रकारका उद्यमी मेलाहरुको सञ्चालन गर्ने व्यवस्था गर्नेछु । शान्तिसुरक्षालाई ध्यान दिदैं व्यवसायीका हितमा काम गर्नेछौं । महासंघ, प्रदेश र संघीय सरकारको पहलमा उद्यामी मेला लगाउँछौं । उद्योग वाणिज्य संघमा ब्यावसायीको गुनासो सुन्न हेल्प डेक्सको स्थापना गर्छाै । प्रत्येक महिना बिषय विज्ञ राखेर साथीहरुका समस्या हल गर्नेछौं । अहिले हामीसगँ ट्रेनिङ हल छैन । त्यसको ब्यावस्थापन गर्छाै ।
Discussion about this post