इटहरी। इटहरी उद्योग वाणिज्य संघको आगामी माघ २८ गतेको चुनावलाई लिएर नेपाली काङ्ग्रेस इटहरी नगर समितिमा विवाद चुलिदै गएको छ । हिजो (शुक्रबार) पार्टी सभापति हेमकर्ण पौडेलले पार्टीको लेटरप्याडमा गायत्री कटवालको समुह आधिकारिक रहेको भन्दै विज्ञप्ती नै जारी गरेका थिए ।
त्यसको २४ घण्टा नबित्दै नगर सभापतिले आफ्नो मनोमानी गरेको भन्दै अर्को समुहले विज्ञप्ती जारी गरेको छ । पार्टी महाधिबेशन प्रतिनिधि विकास केसी, नगर समितिका उपसभापति बालकृष्ण विष्ट, सचिव मन्दिप भट्टराई सहसचिव मेनुका गिरीले विज्ञप्ती जारी गर्दै नगर सभापतिले समितिलाई जानकारी नदिई मनोमानी गरेको इतर समुहको आरोप छ ।
साथै उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर इटहरी उपमहानगरपालिकाको तर्फबाट सभापति हेमकर्ण पौडेलले नेपाली काङ्ग्रेसको आधिकारिक उम्मेदवार भनि प्रस्तुत गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘इटहरी उद्योग वाणिज्य संघको सन्र्दभमा इटहरी उपमहानगर समितिमा कुनै छलफल नभएको हामी नगर समितिका पदाभिकारीहरु प्रष्ट पार्न चाहन्छौं । गैर राजनैतिक संगठनमा मतदाता उद्योगी व्यावसायीहरुलाई आफ्नो विवेक र इमानको प्रयोग गर्दै आफुँले रुचाएको उम्मेदवारको पक्षमा आफ्नो मतदान अधिकार प्रयोग गर्न हार्दिक आह्रवान गर्दछौं ।’
Discussion about this post