काभ्रे / वृद्धा हत्यामा संलग्न युवकलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ पर्ने सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ का २९ वर्षीय अभिषेक आचार्जु रहेका छन् ।
चैत १३ गते धुलिखेलबाट पक्राउ परेका अभिषेकलाई इलाका प्रहरी कार्यालय बनेपाले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
गत फागुन १८ गते बनेपा नगरपालिका १३ स्थित भैंसेपाटीमा बसन्त श्रेष्ठको घरमा डेरा गरी बस्दै आएकी धुलिखेल ९ की ८३ वर्षीया लक्ष्मी तामाङको शव भेटिएको थियो ।
उक्त घटनाको अनुसन्धानको क्रममा सोही घरमा डेरामा बस्ने आचार्जु संलग्न रहेको आशंकामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
आर्थिक अभावका कारण अभिषेकले लक्ष्मीको गहना लुट्ने उद्देश्यले हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनका अनुसार अभिषेकले फागुन १७ गते लक्ष्मीको कोठामै हत्या गरी दुवै कानमा लगाएको सुनको लुटेको स्वीकारेका छन् ।
लुटिएको सुन अभिषेकले १७ गते नै बनेपा ८ स्थित विवेक रत्न सुनचाँदी पसलमा धितो राखी ३६ हजार रुपैयाँ लिएको समेत अनुसन्धानबाट खुलेको छ । सुन धितो राख्ने पसल व्यवसायीसँग अनुसन्धान भइरहेको छ ।
अभिषेकमाथि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post