इलाम / पछिल्लो समय छोराले मात्र आमा बुबाको काज किरिया गर्नुपर्छ भन्ने मान्यता तोडिँदै गएको छ । छोरा नभए छोरीले नै बुबा आमाको काज किरिया गर्न थालेका हुन् । इलाम रोङ गाउँपालिका–४, कोल्बुङका दुई जना छोरीहरूले आमाको किरिया गरिरहेका छन् ।
रोङ ४, कोल्बुङका गणेश अर्यालकी पत्नी तारा रिजाल अर्यालको मृत्यु पछि छोरीहरू १८ वर्षीय गरिमा र १४ वर्षीय कृतिका अर्यालले कोरामा बसेर आमाको काज किरिया गरिरहेका छन् ।
कान्छी छोरी योजना आठ वर्षकी मात्र भएकाले उनी काज किरियामा सहभागी छैनन् ।
उनीहरूले छोराले जस्तै सेतो वस्त्र लगाएर काज किरिया गरिरहेका छन् ।
आमाको अन्त्येष्टिमा पनि उनै छोरीहरूले दागबत्ती दिएका थिए ।
छोरीले काज किरिया गर्नुहुँदैन भन्ने परम्परा तोड्दै आफूलाई जन्मदिने आमाको आफैँले काज किरिया गरिरहेको छोरी गरिमाको भनाई छ ।
केही समयअघि इलामकै सूर्योदय नगरपालिका–१२ को एक परिवारमा समेत बुबाको मृत्यु भएपछि छोरीले नै काज किरिया गरेका थिए ।
Discussion about this post