इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) प्रदेश १ ले आगामी २७ र २८ गते ‘प्रेसिडेन्ट कप’को आयोजना गर्ने भएको छ ।
बुधबार (आज) इटहरीको होटेल साङ्ग्रिलामा पत्रकार सम्मेलन गर्दै प्रदेश १ का चार जिल्लाका खेलाडी सहभागि हुने जानकारी दिइएको छ ।
‘अन्डर १५’ फुटबल प्रतियोगिता तथा कक्षा १२ सम्मको ‘प्रेसिडेण्ट कप रनिङ्ग सिल्ड’ भलिबल प्रतियोगिता यही २७ र २८ गते इटहरी क्षेत्रीय रंगशालामा हुनेछ । प्याब्सन प्रदेश १ अध्यक्ष टिकाराम ढकालले भलिबल प्रतियोगितामा प्रदेश १ का सुनसरी, मोरङ, झापा र तेह्रथुम जिल्लाका विद्यार्थी सहभागी हुने जानकारी दिए ।
भलिबल प्रतियोगितामा छात्रातर्फ ६ टिम र छात्रतर्फ ७ टिम सहभागी हुने ढकालले जानकारी दिए । फुटबलमा भने छात्रतर्फ मात्रै सहभागी गराइने भएको छ । फुटबल यस अघि केन्द्रले नै गराउने तालिका थियो । तर, अन्तिम समयमा प्राविधिक कारण देखाउँदै प्रदेश १ मा गर्ने तयारी गरिएको अध्यक्ष ढकालले बताए ।
रनिङ्ग सिल्ड भलिबल प्रतियोगिताको बिजेता टिमलाई नगद ३१ हजार, उपबिजेतालाई नगद २१ हजार, तृतीय हुनेलाई नगद ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने प्याब्सन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष सुमित थापाले बताए ।
यस्तै, फुटबलतर्फ बिजेता हुने समूहलाई नगद २१ हजार र उपबिजेता हुने समूहलाई नगद ११ हजार रुपैयाँ पाउनेछन् । यस्तै, विभिन्न विधागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कृत गरिने तयारी भएको छ ।
Discussion about this post