भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ वैशाख १ गते देखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८१ सुरु भएको छ ।
मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडी पाखीलगायतको स्टल रहने आयोजक चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।
महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार संस्कृतिसँगै झाँकी प्रदर्शन गरिने समितिका अध्यक्ष आई कुमार राईले बताए। महोत्सवमा जैविक (अर्ग्यानिक) खानाका परिकार तथा प्रदर्शनी रहने उनको भनाइ छ ।
चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भन्ज्याङमा कृषि, पर्यटन र संस्कृति महोत्सव सुरु भएको हो ।
महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको वृत्तचित्र, स्थानीय कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडी पाखीहरू , कविता प्रतियोगिता , बाघ खोरबाट चखेवासम्म मुन्दुम ट्रेल रेस, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
महोत्सवले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सांसद विनोद वान्तवाले बताए ।
मुन्धुम पदमार्गलाई पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनलाई जोड दिएर टेम्केमैयुङलाई पर्यटकीय क्षेत्र बनाउने उदेश्य स्वरुप महोत्सबको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताएका छन ।
महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार संस्कृतिसँगै झाँकी प्रदर्शन टेम्केमैयुङको पर्यटनमा प्रवर्द्धन समितिका अध्यक्ष आई कुमार राईले बताए । महोत्सवमा जैविक (अर्ग्यानिक) खानाका परिकार तथा प्रदर्शनी रहेको आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई , साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङ ,साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ,मुन्धुम पदमार्गका अभियन्ता हरि बहादुर राई ,टेम्केमैयुङका ९ वटै वडाका वडा अध्यक्ष ,समाजसेवी ,बुद्धिजीवी विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।
गाउँपालिकाको १० लाख र आयोजक पक्षको तीन लाख गरी करिब १३ लाखको लागतमा महोत्सव सुरु भएको हो । करिब ५० हजारले महोत्सवको प्रत्यक्ष अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दाबी रहेको छ । महोत्सव स्थल चखेवा धरानबाट ७ घण्टामा (१९२ किमी) पार गरेर पुग्न सकिन्छ ।
Discussion about this post