इटहरी । सुनसरीको इटहरीमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । माधकपदार्थ सेवन गरेर इटहरी उपमहानगरपालिका–४ स्थित बुढिगंगा जमुना मुक्ति घाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा सोही घाटमा काम गर्ने विनोद तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले बताए ।
मङ्गलवार दिउँसो मुक्ति घाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय तामाङको चिर्पट प्रहार मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए ।
इटहरी उप–महानगरपालिका –४ गैरी गाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका विनोद तामाङको उपचारको क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलास भई रहेको प्रहरी निरीक्षक चौधरीले बताए।
दुई पक्ष बिच शव केही बेर भनाभन भएपछि विवाद भएर चिर्पट प्रहार भएको देखिएको प्रहरीको भनाई छ ।
Discussion about this post