विराटनगर । विराटनगरमा आयोजना हुने चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको विजेता टिमले २ लाख ११ हजार नगद पुरस्कार पाउने भएको छ ।
उपविजेता टोलीले १ लाख ११ हजार रुपैयाँमै चित्त बुझाउनुपर्ने छ । उत्कृष्ट ७ विधाका खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने छन् । गोल्डकपमा सहभागी टोलीलाई यातायात खर्चवापत ५० हजार रुपैयाँ उपलब्ध गराउने तयारी आयोजकको छ ।
मिल्ड गोल्डकप फुटबल ट्रष्टको आयोजनामा हुने गोल्डकप सम्पन्न गर्न १२ लाख ६८ हजार रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । विराटनगर जुट मिल्सको मैदानमा शुक्रबारदेखि सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ वटा टिमले सहभागिता जनाउने छन् ।
पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने गोल्डकपका संयोजक मनोज खड्काले बताए ।
गोल्डकपमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, टीडब्लु वाईसी विराटनगर, सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल एपीएफ, सिरहाको गोलबजारस्थित प्रतिभा स्पोर्टिङ क्लब, विराटनगरको पेमा युवा क्लब, धरानको फेयर फुटबल क्लब, झापाको कन्काई स्पोर्टिङ क्लब र महोत्तरीको बर्दीबास नगर खेलकुद विकास समिति सहभागी हुने खड्काको भनाइ छ । उनका अनुसार उद्घाटन खेलमा बर्दीबास नगर खेलकुद विकास समिति र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुने छ ।
गोल्डकपको फाइनल वैशाख १५ गते हुने छ । साविक विजेता झापाको ध्रुवतारा फुटबल क्लब यसपटक गोल्डकपमा सहभागी नहुने पक्का भएको छ । धु्रवताराले सिरहाको गोलबजारस्थित प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले पराजित गरेर तेस्रो संस्करणको उपाधि जितेको थियो ।
दोस्रो संस्करणको उपाधि भिडन्तमा प्रतिभा फुटबल क्लबले विराटनगरको साइनो स्पोर्टिङ क्लबलाई २–१ गोलले स्तब्ध बनाएको थियो । साइनो स्पोर्टिङ क्लब पहिलो संस्करणको उपाधि भिडन्तमा पनि एपीएफसँग ४–३ गोल अन्तरले पराजित भएको अभागी टिम हो ।
गोल्डकपको पहिलो संस्करणमा साइनोलाई टाइब्रेकरमा पराजित गरेर विभागीय टोली एपीएफले उपाधि उचालेको थियो । २०७७ सालमा सम्पन्न पहिलो संस्करणमा विजेता बनेको एपीएफले ट्राफीसहित १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
Discussion about this post