प्रकाश तिम्सिना,इटहरी । लघुबित्त संस्थाहरुले ऋणका नाममा अशुली धन्दा गरेको भन्दै प्रदेश १ का पिडितहरु सडक संर्घषमा उत्रिएका छन् । सुनसरी, मोरङ, झापा, उदयुपर लगायतका स्थानीयहरु वर्षाै देखि ब्याजदरका नाममा चर्काे रकम लिएको भन्दै आज दिन भर इटहरीको मुख्य चौकमा प्ले कार्ड लिएर संर्घषमा उत्रिएका हुन् ।
लघुबित्त ऐन अनुसार एक ब्यक्तिले दोहोरो संस्थाबाट ऋण लिन पाउँदैनन् । तर फरकफरक लघुबित्तका कर्मचारीले गाउँमा जाने समिति बनाएर ऋण दिँदा स्थानीय उक्त रकम निल्नु न ओकल्नुको अबस्थामा पुगेका छन् । घिमेक, सहारा, मिरमिरे लगायत लघुबित्तका कर्मचारीले समयमा ऋण तथा ब्याज तिर्दा पनि चुक्ता नहुने, सेवा शुल्कका रुपमा विभिन्न शिर्षक बनाउने गरेको पिडितले आरोप लगाएका छन् ।
२ सय हाराहारी पिडितहरुले ऋणको नाममा घरपरिवारको उठिबास लगाएको भन्दै सडक संर्घषमा आउन बाध्य भएको बताएका छन् । सुनसरीको भोक्राहा नरसिहं गाउँपालिकाबाट आन्दोलनमा आएकी (नाम परिर्वतन) अप्सरा खातुन लघुबित्तकै कारण मर्नु न बाँच्नु भएको पिडित पोख्छिन् ।
लघुबित्तका कर्मचारी आएको थाहा पायो भने घर छोडेर भाग्नु पर्छ, उनले भनिन् ‘घर भित्र पसेर धान हेर्छन्, गाईबस्तु खोलेर लान्छु भन्छन् ।’ ऋण लिएको रकम भन्दा सावाँ ब्याज तिर्दा पनि ऋण तिरि नसकिएको उनको भनाई छ । सेवा शुल्कका नाममा लिने रकमले गाउँले तनावमा रहेको खातुनको भनाई छ ।
मोरङको धनपालथान गाउँपालिकाकी मैयाँ ऋषिदेव (नाम परिर्वतन) एनआईसी एसिया बैंकले खाली कागजमा हस्ताक्षर गर्न लगाएर पैसा खाने दलाली भएको आरोप लगाउँछिन् । केही समय अघि बैंकबाट ऋण लिएकि उनलाई अहिले सादा कागजमा नाम लेखेर, हस्ताक्षर गर्न लगाएको आरोप लगाईन् । ऋण बुझाउँछु तर हस्ताक्षर गर्दिन उनले भनिन् ।
उदयपुरको गाईघाट नगरपालिकाकी ६० वर्षीय दिलुमाया खत्री (नाम परिर्वतन) को पिडा पनि उस्तै छ । रहरले बसेको समुहले उठिबास लगाएको उनको गुनासो छ । ‘ पाँचवटा लघुबित्तबाट १० लाख ऋण लिएकी छु, केके न होला भनेर बसँे अहिले कर्मचारी आउँछन्,गाइ फुकाउँछु, भैंसी फुकाउँछु भन्छन् ।’ कर्मचारीले घरमा आएर आफँुलाई नमरी मृत्यु दर्ता ल्याउनु, हामी ऋण मिनाहा गरिदिन्छौं भन्ने गरेको समेत आरोप लगाइन् ।
उनीहरुले भोलि २ गते देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, ३ गते सम्बन्धि लघुबित्त समक्ष आन्दोलनभर ताकेता नगर्न पत्र बुझाउने बताएका छन् । त्यसपछि कुनै समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
Discussion about this post