अर्जुन बस्नेत
भोजपुर । भोजपुरमा आजबाट सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग जर्जीयन फुटबल क्लब पराजित भएको छ । आर्मीले शून्यको विरुद्ध ४ गोल गरेपछि जर्जीयन फुटबल क्लब पराजित भएको हो ।
खेल सुरु भएको ७ मिनेटमा आर्मीका जर्सी नंं। ३५ का वसन्त जिम्वाले सुरुवाती गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३४ औँ मिनेटमा जर्सी नं। ६ का सुरज बस्नेतले दोस्रो गोल गरे ।
यस्तै खेलको ५३ औँ मिनेटमा जर्सी नं। २७ का नरेन्द्र राईले गोल गरेका थिए भने खेलको ७५ औँ मिनेटमा जर्सी नं। १३ का पदम तामाङले गोल गर्दै टिमलाई विजयी गराएका थिए ।
व्यक्तिगत विधातर्फ म्यान द म्याच वसन्त जिम्बा घोषित भएका छन् । भोजपुर रंगशालामा सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रवीण सुवालले बताए ।
गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लब सहभागी हुनेछन् भने प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिराहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ गरी आठ टिमले सहभागिता रहेको अध्यक्ष सुवालले बताए ।
Discussion about this post