विराटनगर । मोरङको बूढीगंगा र विराटनगरमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट साढे ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बूढीगंगा गाउँपालिका–४ भवानीपुरस्थित ज्ञानश्वरी सरदारको फुसको छानो भएको घरमा राति १०ः३० बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बस्नेतका अनुसार आगोले घर, ज ३ प १६०८ नम्बरको पल्सर मोटरसाइकलसहित घरभित्र रहेका अन्नपात, भाँडावर्तन र लत्ताकपडा पूर्णरूपले जलेर ध्वस्त भएको छ । आगलागीमा परेर ४ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको टोली, दमकल र स्थानीयको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । डीएसपी बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
त्यस्तै, विराटनगर महानगरपालिका–१६ स्थित विराटनगर जुट मिल्स नजिक रहेको एउटा कपडा पसलमा आगलागी भएको छ । पदम सुब्बाको काठले बनेको र कर्कट पाताको छानो भएको १ तले घर भाडामा लिएर विराटनगर–१५ की प्रीति प्रधानले रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएकी थिइन् ।
उक्त कपडा पसलबाट राति १०ः१० बजेतिर आगलागी भएको प्रहरीको भनाइ छ । आगोले पसलभित्र रहेको केही कपडा जल्नुका साथै घरमा समेत आंशिक क्षति पुर्याएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय सीमाबाट खटिएको टोली तथा स्थानीय र दमकलको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । डीएसपी बस्नेतका अनुसार तत्काल आगो नियन्त्रणमा लिन सकिएका कारण ठूलो क्षति हुन पाएन ।
Discussion about this post