इलाम : कोसी प्रदेशका चार जिल्लामा गोठ र नश्ल सुधार अभियान सञ्चालन गरिएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पशुपालक किसानलाई सहयोग पुर्याउने उद्देश्यले सो कार्यक्रम सुरु गरेको हो ।
झापाको बिर्तामोडमा रहेको संस्थाले इलाम सहित झापा, मोरङ र उदयपुरका किसानलाई समूहमा सङ्गठित गरी आवश्यक कर्जा, प्राविधिक सेवा र बजारीकरणमा सहयोग प्रदान गर्दै आएको हो ।
सहाराका पाँच हजार सदस्यलाई उद्यमी बनाउने उद्देश्य राखेर गाई, बाख्रा, सुँगुर र कुखुरा फार्म सञ्चालन गर्न अभियानमा जोडिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।
उनका अनुसार यस वर्ष सात सय किसानलाई बाख्रा पालक उद्यमी बनाइएको छ ।
“परम्परागत तरिकाले गरिएको पशुपालनबाट उल्लेख्य उपलब्धि हासिल हुँदैन भनेर हामीले किसानलाई बुझाउँछौँ । आधुनिक सीप र प्रविधिको ज्ञानका साथै आवश्यक सहयोग गर्दै आएका छौँ”, गिरीले भने । गाई फार्म र बाख्रा पालनमा आबद्ध किसानको घरदैलोमा पुगेर सेवा दिने व्यवस्था मिलाइएको उनको भनाई छ ।
बाख्राको नश्ल सुधारका लागि यसै साता झापाको दुई, मोरङ र इलामका एक÷एक गरी चार वटा समूहलाई उन्नत जातको बीउ बोका निःशुल्क वितरण गरिएको संस्थाका कृषि तथा वातावरण उपसमितिका संयोजक राजकुमार ओलीले बताए ।
उनका अनुसार सिरोही र पोटा जातका बोका किसानलाई दिइएको हो ।
मोरङको केराबारीस्थित लगनशील सहारा कृषक समूह, इलामको दानाबारी स्थित बिहीबारे सहारा कृषक समूह, झापाको गोलधाप स्थित देउराली सहारा कृषक समूह र झापाको बुधबारेस्थित सृजनशील सहारा कृषक समूहलाई नश्ल सुधारका लागि बोका वितरण गरिएको बताइएको छ ।
गाई पालक र बाख्रा पालक किसानलाई परामर्श सेवा प्रदान गर्नका लागि संस्थाले नेदरल्यान्डबाट पशु विज्ञ चिकित्सक ल्याएको जनाइएको छ ।
नेदरल्यान्डबाट आएका डा। गेरेट टेकनसहितको पशु विज्ञ टोलीले झापा र इलामका किसानको गोठ गोठमा पुगेर अनुगमन समेत गरेको जनाइएको छ ।
पशु विज्ञ टोलीले बाख्रा पालनमा गोठ, आहार र नश्ल सुधारमा उन्नत तरिका अपनाउन सुझाव दिएको थियो ।
टोलीले बाख्राले खाँदै आएको घाँस र दानाकोसमेत अध्ययन गरेको थियो ।
Discussion about this post