धरान । २३ औं सँस्करण बुढासुब्बा गोल्डकप यही फागुन १३ गतेदेखि हुने भएको छ ।
धरान फुटबल क्लबले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
क्लबका अध्यक्ष किशोर राईले यसपाली मुनाफा हुने गरि प्रतियोगिता गर्ने रणनीति तयार गरेको बताए । । उनले प्रतियोगिताको लागी बजेट रकमान्तर गरेर ३ लाख थप गरेको र मेयर कोषबाट थप ३ लाख दिने प्रतिवद्धता जनाएको भन्दै अध्यक्ष राईले मेयर हर्क साम्पाङसहित कार्यपालिका सदस्य, वडाअध्यक्षहरुलाई पनि धन्यवाद दिए ।
वडा कार्यालयहरुबाट पनि बजेट प्राप्त हुने उनले जानकारी दिए । प्रतियोगितामा वंगलादेश, क्यामरुनसहितको ८ वटा क्लबहरु सहभागीता जनाउने भएको छ । क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीका अनुसार केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब सहभागी रहनेछ ।
प्रतियोगिताको लागी यसपाली विभिन्न निकाय, संघसंस्था तथा दाताहरुबाट समेत गरेर १ करोड ९ लाख ५० हजार आय हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष बुढाथोकीले जानकारी दिए । त्यसमध्ये ८५ लाख ५ हजार खर्च हुने अनुमान गरिएको उनले बताए ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । साथै, यसपाली उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइनेछ ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने पनि क्लबले जनाएको छ ।
वि.स. २०५५ साल देखि निरन्तर हुदै आएको गोल्डकप गत २ वर्ष बन्द भएको थियो । आर्थिक समस्याका कारण २२ औं संस्करणका विजेता र उपविजेताको पुरस्कार पनि केही दिन अघि मात्रै प्रदान गरेको थियो ।
Discussion about this post