विराटनगर । मोरङको सुन्दरहरैँचामा कानुनद्वारा बर्जित लागूऔषधको कारोबार हुने गरेका दुईवटा घरमा प्रहरीले सोमबार साँझ छापा हानेको छ ।
घरमा छापा हानेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित सुन्दरहरैँचा नगरपालिका–६ का २६ वर्षीय कमल मगर र ३७ वर्षीय मनिष लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । मगर र लिम्बूको घर सुन्दरहरैँचा–६ को अलगअलग स्थानमा पर्छ ।
मगरको घरबाट लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले साँझ ६ बजेतिर छापा हानेको थियो । त्यसक्रममा लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिने धुलो वस्तु ४.३० ग्राम, स्पास्पेन ९२ ट्याब्लेट, ट्रमाडोल २ सय १० ट्याब्लेट, डेकालिङ ८६ ट्याब्लेट, स्पास्मो २५ ट्याब्लेट, स्टिलको थाल, गाँजा काट्ने छिनोलगायत घरबाट बरामद भएको थियो । लागूऔषध बरामद भएपछि प्रहरीले मगरलाई पनि पक्राउ गरेको छ ।
त्यस्तै, विशेष सूचनाका आधारमा प्रहरीले लिम्बूको घरमा साँझ ५ बजेतिर छापा हानेको थियो । उनको घरबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने धुलो वस्तु २.९७ ग्राम, सानो खालको डिजिटल तराजु, कैंची, मोबाइल, स्टिलको थाल, लाइटरलगायत बरामद गरेको छ । लागूऔषधलगायतका सामान बरामद भएपछि प्रहरीले उनलाई पक्राउ गर्यो ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । मगर र लिम्बूका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानपछि थप कुरा पत्ता लाग्ने डीएसपी बस्नेतले बताए ।
Discussion about this post