इटहरी । कोशी प्रदेशमा ज्येष्ठ २५ गते देखि २७ गतेसम्म इस्ट्रन ट्राभल मार्ट २०२४ हुने भएको छ । मङ्गलवार इटहरीको होटल त्रियुगामा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिइएको हो ।
कोशी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई प्रदेशका सीमावर्ती भारतीय सहर र नेपालका अन्य प्रदेशहरूमा समेत प्रचार प्रचार र प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित सो कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कोशी प्रदेशको महत्त्वपूर्ण पर्यटकीय कार्यक्रमको चौथो संस्करणमा छिमेकी देश भारतका विहार, पश्चिम बङ्गाल सिक्किम प्रान्त, भुटान र बङ्गलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी, पर्यटनकर्मी, पर्यटन पत्रकार, पर्यटन अभियन्ताहरूको सहभागिता रहने कार्यक्रमका संयोजक भविष कुमार श्रेष्ठले बताए ।
नेपालका लुम्बिनी, वाग्मती, गण्डकी, मधेस र अन्य प्रदेशका ५० जना भन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता रहनेछ ।
कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डबाट तिस लाख र सो रकमको २० प्रतिशतले हुन आउने रकममा इटहरी उपमहानगरपालिकाले बेहोर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रममा कोशी प्रदेशमा सञ्चालित तारे होटलहरु प्रदेशका मुख्य गन्तव्यहरू धनकुटा, वसन्तपुर , फिदिम इलाम झापा र धार्मिक स्थलहरूमा भ्रमण कार्यक्रम समेत रहेको छ ।
विभिन्न क्षेत्रहरू गरी ३० वटा भन्दा बढी स्टल रहने र कार्यक्रममा उपस्थित व्यवसायी स्टलहरू र विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरू बिच सूचनारव्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तर देशीय व्यवसायी प्याकेजहरूमा सहमति सम्झौता गराउने उद्देश्य रहेको संयोजक श्रेष्ठले बताए ।
नेपाल बाहेकका आमन्त्रित व्यवसायीहरूलाई कार्यक्रमको दोस्रो दिन २६ गते कोशी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गराइने बताइएको छ ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इटहरीको होटल सोल्टी वेस्टेण्डमा सञ्चालन हुने र कार्यक्रमको समापन झापाको पूर्व नाकामा अवस्थित होटेल, मेची क्राउनमा ज्येष्ठ २७ गते गरिने संयोजक श्रेष्ठले बताए ।
Discussion about this post