विराटनगर । लामो समय भारतमा बसेर विराटनगर आएका मानव बेचबिखन तथा ओसारपसारका एक जना आरोपीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले मोरङको साविकको बुधनगर गाविस–१ (हालको विराटनगर महानगरपालिका–१८)का ५१ वर्षीय दिनेश मण्डललाई बिहान ११ बजेतिर पक्राउ गरेको हो । मण्डल घटना भएको ३० वर्षपछि पक्राउ परेका हुन् । उनी त्यतिबेला २१ वर्षका थिए । प्रहरीका अनुसार उनले लामो समय भारतमा बिताएको यकिन भएको छ ।
आफूविरुद्ध किटानी जाहेरी परेको जानकारी पाएलगत्तै फरार भएका उनी लामो समयसम्म लुकिछिपी भारतमा बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घटना निक्कै पुरानो भइसकेकाले आफू कानुनी कारबाहीमा नपर्ने ठानेर मण्डल विराटनगर आएका रहेछन् । विराटनगर आएको मौका छोपेर मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार हिँड्दै गरेको अवस्थामा विराटनगर–१७ स्थित विराटनगर जुट मिल्सनजिकबाट पक्राउ गरिएको हो । एक जना महिलालाई २०५१ साल साउन १० गते भारतको कटिहार जिल्लाको डरेवर टोलको वेश्यालयमा लगेर बिक्री गरेको आरोप मण्डलमाथि छ । पीडित भनिएकी महिलाले नै उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, ३० वर्षदेखि फरार रहेका कारण प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
डीएसपी बस्नेतले मण्डलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउन मोरङ अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको बताए । इन्सपेक्टर थापा नेतृत्वकै टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ । प्रहरीको खोजी सूचीमा रहेका आरोपीलाई लामो समयपछि भएपनि पक्राउ गर्न प्रहरी सफल भएको जानकारी डीएसपी बस्नेतले दिए ।
उनका अनुसार आफूविरुद्ध प्रहरीमा जाहेरी परेको थाहा पाएर भारततिर भागेका मण्डल उतै लुकिछिपी बसेकाले वतन यकिन नभएका कारण त्यतिबेला पक्राउ नपरेका हुन् । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरिरहेको थियो ।
लत्ताकपडा किन्नलाई भनी भारतको फारबिसगन्ज लगेपछि लड्डु खान दिएर बेहोस बनाउँदै आफूलाई कटिहारको डरेवर टोलको वेश्यालयमा पुर्याइ साथमा भएका गरगहना तथा नगद सबै लिएर मण्डल फरार भएको पीडित महिलाले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख छ । उक्त वेश्यालयबाट केही समयपछि भागेर आफू नेपाल आउन सफल भएको महिलाले जाहेरीमा खुलाएकी छन् ।
प्रहरी स्रोतका अनुसार घटना निक्कै पुरानो भएपनि प्रकृति हेर्दा महिलालाई भारत पुर्याएर बेचबिखन गरेजस्तो देखिन्छ । लामो समयदेखि फरार रहेका आरोपी बल्ल पक्राउ परेकाले अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाइ छ । प्रारम्भिक सोधपुछका क्रममा महिलालाई आफूले नै भारत लिएर गएको मण्डलले स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ ।
Discussion about this post