विराटनगर । मोरङको जहदामा बिहीबार बिहान आगलागी हुँदा सनपाट र धान जलेको छ ।
जहदा गाउँपालिका–७ भीमपुरका सुरेशप्रसाद सिंहले सञ्चालन गरेको गोदाममा बिहान ३ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सनपाट र धान राखिएको गोदाममा आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ ।
आगोले टिनको छाना र पक्की गाह्रो भएको गोदामसहित गोदाम घरभित्र रहेको ३ सय २५ क्वीन्टल सनपाट तथा ९ सय ५० क्वीन्टल धान जलेको बस्नेतले बताए । आगलागीको कारण यकिन हुन नसकेको र विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने बस्नेतले बताए ।
स्थानीय बासिन्दा, विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा लगभग ४ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post