विराटनगर । पर्याप्त गहुँ उपलब्ध हुन नसक्दा सुनसरी–मोरङ औद्योगिक कोरिडोरसहित मुलुकभरका मैदा मिलको उत्पादन प्रभावित भएको छ ।
गहुँ अभावमा उत्पादन प्रभावित हुँदा बजारमा आँटा, मैदा र सुजीको अभाव देखिएको छ । बजारमा पाइने सामग्रीको मूल्य पनि बढेको छ । स्थानीय बजारमा अभाव भएपछि यी वस्तु भारतबाट अवैध रुपमा भित्रिन थालेका छन् । मैदाको उत्पादन ठप्प हुँदा चाउचाउ र विस्कुट उद्योग पनि प्रभावित भएका छन् ।
भारतले दिएको ५० हजार टन गहुँ आयात गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल नगर्दा देशभर रहेका ४० वटा मैदा मिलको उत्पादन ठप्प भएको क्वालिटी फुडका सञ्चालक नवलकिशोर काँवराको भनाइ छ ।
भारतले उपलब्ध गराएको ५० हजार टन गहुँगत वर्षको उत्पादन र खपतका आधारमा नेपालका ४० वटा मैदा मिललाई ७ प्रतिशतका दरले वितरण गरेर आयात गर्न एसोसिएसनले मन्त्रालयमा प्रस्ताव गरेको थियो । मन्त्रालयले गहुँ ल्याउने प्रक्रिया अगाडि नबढाउँदा सबै मैदा मिलको उत्पादन बन्द भएको व्यवसायीले बताएका छन् ।
भारतले उपलब्ध गराएको गहुँ आयातका लागि उद्योगीले बुझाएको फाइल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलका थन्किएको छ । मन्त्रालयले भारतसँग पहल गरेको अवस्थामा मात्र गहुँ आयात सहज हुन सक्ने देखिएको छ ।
एसोसिएसनका अनुसार मुलुकका ४० वटा मैदा मिललाई वार्षिक १० लाख टन गहुँको आवश्यकता पर्छ । स्थानीय उत्पादन बढीमा ४ लाख टन हुन्छ । बाँकी ६ लाख टन गहुँ भारतबाट आयात हुँदै आएको छ ।
केही महिना अघिको तुलनामा मैदा र आँटाबाट बनेका उपभोग्य बस्तुहरुको मूल्य ४० प्रतिशतसम्म बढेको व्यवसायी रामु सुवेदीले बताए ।
अहिले सबै मिलको मौज्दात गहुँ सकिएको छ । भारतबाट आयात नगरेसम्म मिलको उत्पादन सुरु हुने स्थिति नरहेको उद्योगीहरुले बताएका छन् । भण्डार गरिएको गहुँ सकिएको, भारतबाट आउन छाडेको अनि स्थानीय नयाँ उत्पादन आउन अझै तीन महिना लाग्न सक्ने भएकाले उद्योगहरु समस्यामा परेका हुन् ।
रुस र युक्रेनबीचको युद्धका कारण भारतले गहुँको संकट पर्ने भन्दै गत वैशाख अन्तिममा निकासीमा रोक लगाएको थियो । परिस्थिति अनुकुल भएसँगै निकासीलाई पुन निरन्तरता दिन भारतले गहुँ आवश्यक पर्ने मुलुकसँग आवश्यक परिमाण माग गरेको थियो ।
नेपाल फ्लोर एसोसिएसनका सचिव विकास बेगवानीका अनुसार कच्चा पदार्थ अभावका कारण देशभरका उद्योगहरु प्रभावित बनेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलले समयमा परिमाण उपलब्ध नगराउँदा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाललाई हटाएपछि दुई साताअघि मात्रै नेपालका लागि ५० हजार टन गहुँ उपलब्ध गराउने बताएको थियो । भारतले गहुँको माग गर्ने बंगलादेश, इण्डोनेसिया, यमन, यूएई र ओमानका लागि भने कोटा तोकेर निकासी खुला गरेको थियो ।
भारतले नेपालमा मैदा र गहुँ निकासीमा रोक लगाएपछि मोरङ र सुनसरीका विभिन्न नाकावाट मैदाको तस्करी बढेको छ । यसै क्रममा विराटनगर भन्सारले सुनसरीका विभिन्न नाकाबाट अवैध रुपमा भित्रिँदै गरेको १५ लाख मूल्यको २२ टन मैदा एकै दिन पक्राउ गरेको थियो ।
भारतमाभन्दा नेपालमा मैदाको मूल्य १० रुपैयाँ बढी भएका कारण यसको तस्करी बढेको भन्सारको भनाइ छ । भारतले गहुँ निकासी रोक्नुअघि गहुँ प्रतिकेजी ३४ रुपैयाँमा पाइन्थो । अहिले गहुँको मूल्य नै किलोको ५० रुपैयाँ पुगेको छ । आँटाको मूल्य किलोको ५० बाट ७०, मैदा ४८ बाट ६८ र सुजी ५५ बाट ७० रुपैयाँ पुगेको सम्बद्ध उद्योगीको भनाइ छ ।
Discussion about this post