विराटनगर । मोरङको सुनवर्षीमा घरमा एक्लै बस्दै आएका एक जना वृद्ध सोमबार साँझ मृत भेटिएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुनवर्षी नगरपालिका–२ का ७५ वर्षीय पुनलाल राजवंशी साँझ ७ः२५ बजेतिर आफ्नै घरभित्र मृत फेला परेका हुन् । वृद्ध राजवंशी घरमा एक्लै बस्दै आएका थिए । पत्नीको केही समयअघि मृत्यु भइसकेको र उनका सन्तान नरहेको जानकारी प्रहरीले दिएको छ ।
घरको कोठाभित्र पानी भरेको बालटिनमा टाउको डुबेर मृत्यु भएको अवस्थामा राजवंशीको शव भेटिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार पानी भरेको बालटिनमा घोप्टो परेको र निर्वस्त्र अवस्थामा राजवंशी मृत फेला परेका हुन् । राजवंशी घरभित्रै मृत फेला परेको जानकारी स्थानीयले दिएपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा लगेको छ । राजवंशीको अस्वभाविक मृत्युका सम्बन्धमा इन्सपेक्टर खड्का नेतृत्वकै टोलीले थप अनुसन्धान सुरु गरेको छ । डीएसपी बस्नेतका अनुसार पानी खान वा नुहाउन लाग्दा राजवंशीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
तत्काल हेर्दा घटना शंकास्पद नदेखिएको र शरीरमा कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । यद्यपि, अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी प्रहरीको भनाइ छ ।
Discussion about this post