इलाम / फरक गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका पाउनु भएको छ । यदि छैन भने आउनुहोस् पाटेनागी क्षेत्र । यहाँ होमस्टेसँगै धेरै नयाँ र आकर्षक वस्तुको अवलोकन गर्न सकिन्छ ।
होमस्टेमा लोकल कुखुरा, खसी, बोकाको मासु देखि सेल रोटी, स्थानीय कोदोको ढिँडो, आलु, मुला, गाजर, मकै भटमास, केराउ लगाए लगायतका स्थानीय उत्पादनबाट बनेका खानाका विभिन्न परिकारहरूको स्वाद मज्जाले लिन पाइन्छ ।
होमस्टेका नाममा सुविधा सम्पन्न होटल निर्माण भइरहेका छन् तर पनि ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटन प्रति आकर्षण बढेको छ ।
गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँ बस्तीमा पुग्नै पर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूमा पनि आकर्षण बढेको छ । महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा पाइन्छ ।
होमस्टेमा बस्ने पर्यटकले एकै परिवारमा जस्तै गरी बस्ने गर्दछन् ।
पछिल्लो समय इलाम र पाँचथरको सँगम स्थलमा पाटेनागी क्षेत्र पर्यटकको रोजाई बन्न थालेको छ । चिसो मौसम र स्थानीय परिकारको स्वाद आफ्नै रोजाइमा पाउन थालेपछि पर्यटकको रोजाई बन्न थालेको हो ।
यहाँ पुग्ने पर्यटकले लेकाली क्षेत्रको वातावरणमा रमाउनुका साथै स्थानीय परिकारको आनन्द लिँदै ट्रेकिङको भरपुर मनोरञ्जन लिने भएकाले पर्यटकको आकर्षणमा पर्ने गरेको स्थानीयको भनाई छ ।
जुन सुकै मौसममा पनि पैदल यात्रामा आवत जावत गर्न सकिने बताइएको छ । कालोपत्रे सडकबाट एक घण्टाको यात्रा पछि होमस्टेमा भएको ठाउँ सुकेपोखरीमा पुग्न सकिन्छ ।
सुकेपोखरी पुगेका पर्यटक पुन त्यही बाटो फर्कनु पनि पर्दैन सुकेपोखरीमा बेलुकाको बास बस्ने होमस्टेको स्वाद चाख्ने र बिहान त्यहाँबाट ट्रेकिङ गर्ने हो भने करिव तीन घण्टामा इलाम नगरपालिका एकको बागखोर सम्म निस्कन सकिन्छ ।
तीन घण्टाको यात्रामा लेकाली क्षेत्रमा पाउने जडीबुटी, विभिन्न खालका वनस्पतिको अवलोकन गर्न सकिन्छ । त्यहाँ पर्यटकको आकर्षणका लागि इलाम नगरपालिका ३ पुवामझुवामा रहेको पाटेनाँगी, इलाम नगरपालिका र देउमाई नगरपालिकाको सिमानामा रहेको कुहिभिर र ठुला ठुला खर्कको अवलोकन सँगै रमाउन सकिन्छ ।
त्यहाँ पुग्दा खर्कमा चरनका लागि गएको गाईको ताँतीका साथै मनमोहक दृश्य देख्न सकिन्छ । त्यहाँ पुग्ने जो कोही पर्यटक त्यहाँको दृश्यको लोभले दुई तीन पटक सम्म आउने गर्दछन् ।
यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न ट्रेकिङको लागि उत्कृष्ट रहेको पर्यटन सरोकार समिति इलामको भनाई छ । सुकेपोखरी पुग्नको लागि इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजार हुँदै पाँचथरको पौवा भन्ज्याङसम्म कालोपत्रे सडकको यात्रा गर्नुपर्छ ।
पौवा भन्ज्याङदेखि पाँच किलोमिटर कच्ची सडकको यात्रा पछि सुकेटार पुग्न सकिन्छ । पौवा भन्ज्याङ बाटै ट्रेकिङ (पैदल) गर्ने हो भने एक घण्टाको यात्रामा सुकेपोखरी पुगिन्छ ।
सुकेपोखरी सम्म गाडीमा जाने र त्यहाँबाट टे«किङ गर्न पनि सकिन्छ ।
नयाँ नयाँ गन्तव्य खोज्ने अनि रोज्नेहरूका लागि सो क्षेत्र नयाँ बन्न सक्छ ।
एक पटक सो क्षेत्रको अवलोकनमा निस्कने पो हो कि ?
Discussion about this post