काठमाडौं : चार दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी भएको छ। शुक्रबार बिहान बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले राष्ट्रपति कांग्रेसबाट उठाउने अनौपचारिक सहमति गरेको हो। साँझ ५ बजे बालुवाटारमा बस्ने चार दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
महामन्त्री थापाले भने, ‘हामीले सबै दलसँग छलफल गर्दै आएका थियौँ, सोही क्रममा आज चार दलका बीचमा छलफल भएको हो, आजको छलफल सकारात्मक छ, हामी एउटा टुङ्गोमा पुग्छौँ।’ राष्ट्रपतिमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्भावना छ। बैठकमा सहभागी एक नेताका अनुसार पौडेलका नाममा चार दलबीच सहमति बनेको हो।
‘राष्ट्रपति कांग्रेसले पाउने निर्णय भएको छ। त्यसमा पनि रामचन्द्र पोडैलजीको नाममा सहमति बनेको हो,’ बैठकमा सहभागी एक कांग्रेस नेताले भने। उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीले दाबी गरेको छ। यसमा कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू सकारात्मक छन्। साथै सरकारको नेतृत्वबारे पनि छलफल भएको छ। यसमा माओवादी केन्द्र र एकीकृत समाजवादी पालैपालो सरकारको नेतृत्व गर्ने समझदारी बनेको हो।
‘माधव नेपालजीले आफ्नो योगदानको विषय बैठकमा राख्नुभयो। यसमा अन्य नेताहरू पनि सकारात्मक हुनुहुन्छ। उहाँलाई एक वर्ष सरकारको नेतृत्व दिने विषयमा छलफल भएको छ,’ कांग्रेसका ती नेताले भने। त्यस्तै, जसपा नेता राजेन्द्र श्रेष्ठ आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको बताउँछन्।
Discussion about this post