इटहरी : नेपाली कांग्रेसका संस्थापक तथा प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार (आज) देशभरि विविध कार्यक्रमको आयोजना गरी स्मरण गरिँदै छ । कांग्रेसले केन्द्रीय कार्यालय सानेपा, सातै प्रदेश र ७७ जिल्लास्थित कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गर्दैछ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कोइराला, नेपाली कांग्रेस संस्थापक नेताहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूले आठ वर्ष राजबन्दी जीवन बिताएको काठमाडौँको सुन्दरीजल जेल (वीपी सङ्ग्रहालय) मा पनि विशेष कार्यक्रमको आयोजना गरिँदै छ ।
विसं १९७१ भदौ २४ गते जन्मिएका उनी २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ मत प्राप्त गरेपछि देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले उनलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेपछि आठ वर्ष जेलजीवन बिताए ।
२०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट फर्किएका उनले राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गरेका छन् । क्यान्सर रोगबाट पीडित कोइरालाको निधन २०३९ साउन ६ गते भएको हो ।
Discussion about this post