इलाम / माईजोगमाई गाउँपालिका–१ नयाँबजारका मिलन खड्कासँग गत साल बर्खामा हिलोले गाडी फस्दा बजारसम्म तरकारी पुर्याउन नसकिएको तीतो अनुभव छ ।
‘पोहोर हिलोबाट गाडी उकास्न नसक्दा बेच्न लगिएको एक पिक अप तरकारी बाटैमा कुहिएर फाल्नुपरेको थियो ।’ खड्काले भने ‘अहिले त प्रदेश सरकारले बाटो कालोपत्रे गरिदिएको छ ।
दुई किलो सामान बेच्न बजार जान्छु भने पनि आधा घण्टामै पुगिन्छ । आनन्द भएको छ ।’
कोसी प्रदेश सरकारले इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बरबोटेबाट माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार जोडिने २० किलोमिटर २०० मिटर सडक कालोपत्रे गरिदिएपछि यहाँका जनताको जीवनस्तर फेरिएको छ ।
५३ करोड ८९ लाख ३८ हजार १४९ रूपैयाँ लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इन्जिनियर वीरेन्द्र लामाले बताए । उनका अनुसार सडकको अप्ठ्यारो भागमा ८ सय मिटर पक्की ढलान गरिएको छ ।
सडक निर्माणले दैनिक उपभोग्य वस्तु किनमेल गर्न बजार नजिक परेको छ । बिरामी परेर उपचार गर्न जानुपर्नेलाई सहज भएको छ । सडक कालोपत्रे भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् ।
सडक कालोपत्रेले तीन वटा स्थानीय तहका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका हुन् । यसले सूर्योदय नगरपालिका, माइजोगमाइ र सन्दकपुर गाउँपालिकाबासीलाई प्रत्यक्ष फाइदा पुगेको छ ।
पर्यटकको आवतजावत हुने र देशकै सबैभन्दा ठुलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडकले उत्तरी इलामका बासिन्दालाई ठुलो सहयोग पुगेको माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले बताए ।
२०१० सालमा तत्कालीन बडाहाकिम सन्तवीर लामाको नेतृत्वमा सडकको ट्याक खोलिएको थियो ।
२०७६ मङ्सिरमा निर्माण सम्झौता भएको सडक झापामा रहेको प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको हो ।
सडक कालोपत्रे भएपछि सीमा क्षेत्रका नेपाली नागरिकको पनि नेपाली बजारसम्म पहुँच पुगेको छ ।
‘हामीले त नेपालको बजार देख्न नपाएको थुप्रो भएको थियो ।’ सीमा क्षेत्रकी रोशनी शेर्पाले भनिन् । अहिले बाटो बनिएपछि आफ्नै देशको बजार जान पाएका छौँ ।
बाटो नहुँदा त हिँडेर जान नसकिने । नजिकै इन्डिया पर्छ त्यतै जान्थिम ।’
प्रत्यक्ष रूपमा भारतसँग जोडिने यो सडकका कारण भारतीय पर्यटक बढ्न थालेको गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताइन् । ‘माईजोगमाई ओझेलमा परेको पर्यटकीय क्षेत्र हो । सडक अभावकै कारण आन्तरिक तथा बाह्य पर्यटक भित्रिन सकेका थिएनन् ।’ उनले भनिन् ।
‘आजकाल भारत, बङ्गलादेश लगायतका अन्य मुलुकका पर्यटक पनि यहाँ आई पुग्ने गरेका छन् । तराईको गर्मी छल्न कन्याम र अन्तु आएकाहरू तुम्लिङबाट हिमाल हेर्न यहाँ आई पुग्छन् ।’
तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल भारत सीमामा पर्ने पर्यटकीय स्थल हुन् ।
हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत, भुटान, बङ्गलादेशलगायतका मुलुकबाट आउने पर्यटकलाई नवनिर्मित कालोपत्रे सडकले सजिलो बनाइदिएको छ ।
सडक सहजताका कारण पर्यटक भित्रिने क्रम वृद्धि भएको गाउँपालिकाका अध्यक्ष थेबेले बताए । ‘सडक बनिएपछि सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधै नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतिर जाने गर्नुभएको छ,’ उनले भने ।
जैविक विविधताले भरिएको माइजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवर्द्धनको काम सुरु गरेको छ ।
पर्यटकीय स्थललाई प्रवर्द्धन गर्न ‘टुरिजम एप्स’ सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थेबेले बताए । ‘सडक सहज भएपछि पर्यटन प्रवर्धन गर्न खासै गारो छैन ।
अब एप्समा यहाँका पर्यटकीय स्थल समेटिने छन् । उनले भने । ‘त्यसका साथै कृषिका कुरा, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका कुरा समावेश हुन्छ ।’
मोरङकी विमला श्रेष्ठ पोहोरसाल विवाह भएर नयाँबजार नजिकै घरमा पुग्दा निराश बन्नुभएको थियो । सोही ठाउँमा दिन कटाउनुभएकी श्रेष्ठलाई अहिले भने नसोचेको खुसी मिलेको छ ।
घरमुनिबाट बनेको फिक्कल–नयाँबजार सडकको दायाँबायाँ बारी परेपछि खुसी लागेको छ । त्यही बारीमा उब्जिने खाद्यान्नबाट उनको परिवारलाई छ महिना पनि खान पुग्दैन थियो ।
अहिले भने बारीको कुना (छेउ) घडेरीका रूपमा बेच्दा लाखौँ रुपियाँ हात पर्ने अवस्था सिर्जना भएको उनले बताइन् ।
फिक्कल–नयाँबजार अन्तर्गत २० किलोमिटर लम्बाइको सडक कालोपत्रे निर्माण भई नियमित यातायात सेवा सञ्चालनसँगै उक्त सडकको छेउछाउमा पर्ने जग्गाको मूल्य आकासिँदो रहेको स्थानीयले बताएका छन् ।
यो सडक निर्माण हुनुअघि सूर्योदय नगरपालिका–१ को मकरजुङ, साँघुबेशी, वडा नं ९ का रम्फोक माईजोगमाई गाउँपालिकाको प्रेमेजुङ, लप्सिबोटे लगायतका दर्जनभन्दा बढी ठाउँमा जग्गाको मूल्य नै थिएन ।
एक रोपनी जमिन बेच्दा ५० हजार रुपियाँ हात लाग्न गाह्रो थियो । तर अहिले कालोपत्रेले छोएको त्यही ठाउँमा जग्गाको मूल्य प्रतिरोपनी १५ लाखदेखि २० लाख रुपियाँसम्म पुगेको रम्फोकका सन्तोष घिसिङले जानकारी दिए ।
यस क्षेत्रमा होटल तथा विभिन्न व्यवसाय चल्ने देखेपछि बाहिरका मान्छे आएर यहाँ जग्गा किन्ने क्रम बढेको छ । जग्गा किनबेचको क्रम बढेसँगै मूल्य बढेको उनको भनाइ छ ।
गाउँमै व्यापार व्यवसाय गरेर आम्दानी गर्न सकिने भएको छ ।
सडक निर्माणले उत्तर पूर्वी इलामका गाउँको मुहार फेरिएको छ । सडक आसपासको जग्गा धेरै महँगिएको छ ।
सडकले जग्गाको भाउ मात्रै बढाएको छैन, गाउँमै व्यवसाय गर्न सम्भव भएको छ र स्थानीय उत्पादनको बिक्री पनि बढेको छ ।
Discussion about this post