विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघीय सरकार र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो ।
राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए । अन्य प्र्रदेशको तुलनामा प्रदेश १ को परिस्थीति फरक रहेका कारण छलफल पछि निर्णयमा पुगिने उनले बताए । ‘अन्य प्रदेशको तुलनामा प्रदेश १ को अवस्था विशिष्ट परिस्थीतिको छ,’ उनले भने,‘ हाम्रा कारणले अस्थीरता नहोस भन्ने चाहान्छौं ।’
उनले प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्न आज पार्टीको प्रदेश समितिले बैठक बोलाएको बताए । राप्रपा प्रदेश १ का अध्यक्ष राम थापाले पनि पार्टीको प्रदेश कमिटि बैठकपछि आवश्यक निर्णय हुने जानकारी दिएका छन् ।
प्रदेश १ प्रदेशसभामा एमालेका ४० कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
Discussion about this post