विराटनगर : विराटनगरस्थित जोगवनी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने एक बंगलादेशी नागरिकलाई फिर्ता पठाइएको छ ।
भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले मंगलबार (आज) दिउँसो १ः१५ बजेतिर फिर्ता पठाएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनी भारतीय नागरिकको समूहमा मिसिएर अनाधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेका थिए ।
इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट भारततर्फ नै फिर्ता पठाइएको बस्नेतले जानकारी दिए ।
नाकामा चेकजाँच गर्ने क्रममा उनको साथबाट बंगलादेशको नागरिक रहेको परिचय पत्र भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनका अनुसार जोगवनी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेको पहिलो घटना हो ।
‘बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यरनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । तालुक कार्यालयबाट पनि कडाइ गर्न निर्देशन भएको छ,’ एसपी कार्कीले भने, ‘गैरनागरिक नेपाल प्रवेश गर्न नपाउन् भनेर सीमामा कडाइ गरिएको छ । नेपाल र सशस्त्र प्रहरीसमेतका सुरक्षा निकायबीच समन्वय गरेर चेकजाँच तीव्र पारिएको छ ।’
उनका अनुसार जोगवनी हुँदै नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई कडाइका साथ चेकजाँच गर्ने गरिएको छ ।
बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्न केन्द्रीय सुरक्षा समितिको बैठकले निर्देशन दिएको थियो । निर्देशनसँगै कडाइ गर्नका लागि नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Discussion about this post