विराटनगर : विराटनगर महानगरपालिका–१ स्थित सिंघिया खोलामा डुबेर ९० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१ की ९० वर्षीया तुलासीमाया भण्डारी रहेकी छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मंगलबार (आज)दिउँसो १२ बजेतिर खोलामा डुबिरहेको देखेर स्थानीयले बाहिर निकालेका थिए । तर, खोलाबाट निकाल्दा वृद्धाको मृत्यु भइसकेको थियो ।
वृद्धा दैनिकजसो ‘मर्निङ वाक’मा निस्किने गरेको जानकारी परिवारले प्रहरीलाई दिएको छ ।
त्यही क्रममा उनी खोलामा डुबेको हुनसक्ने प्रहरीको अनुमान छ । हातमा लाठी समाइरहेको अवस्थामा खोलाभित्र उनको शव फेला परेको थियो ।
कोशी अस्पतालमा शवको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post