विराटनगर । मोरङको धनपालथानमा मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सडकमा रोकेर राखेको ट्याक्टरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार विराटनगर–रंगेली सडकखण्डअन्तर्गत धनपालथान गाउँपालिका–६ गदिया पुलनजिक सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त १२५५ नम्बरको ट्याक्टरमा पछाडिबाट बीआर ११ एच ७६६८ नम्बरको मोटरसाइकल साँझ ७ः४५ बजेतिर ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–७ का ४० वर्षीय विनोद बहरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार गम्भीर अवस्थाका बहरदारलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भएको जानकारी बस्नेतले दिए ।
ट्याक्टर र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । ट्याक्टर चालक फरार छन् । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।
Discussion about this post