धरान । धरान उपमहानगरपालिका वडा नं। ८ अरुण टोलस्थित तीन ढ्वाङे भत्किएको छ ।
गएराति आएको अविरल वर्षाका कारण मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने उक्त भत्किएको हो । जीर्ण संरचनामाथि पिँच गरेका कारण पुल भत्किएको स्थानीयबासीको भनाइ छ ।
उक्त पुल बुधवार (आज) बिहानको करिब ३ बजेतिर भत्किएको हुनसक्ने स्थानीबासी बताउँछन् । उक्त राजमार्ग अन्तर्गत २ लेनको पक्की बाटो निर्माण भई सम्पन्न भएको थियो । तर पुल भने ६ दशकअघि ब्रिटिसको पालाको बनाइएका कारण सो संरचनामाथि नै पिँच गरिँदा क्षति भएको जानकारहरू बताउँछन् ।
धरान ८ का वडाध्यक्ष धनबहादुर राईका अनुसार पुल जीर्ण अवस्थामा रहेका कारण संरक्षण गर्नुपर्ने अवस्थामा भत्किदाँ बाटो अवरुद्ध भएको छ ।
पुरानै पुलमा पिँच गर्दा भत्किएको उनले बताए । ‘म अध्यक्ष भइकन कार्यपालिकामा पनि यसबारे कुरा राखेको थिएँ,’ उनले भने, ‘यो बाटो निर्माण गर्दैगर्दा पनि भनेको थिएँ । तर त्यति बेला केही हुँदैन भनियो, अहिले भत्कियो ।’
आफूले जानकारी गराउँदा गराउँदै पनि त्यस बेला सम्बन्धित पक्षले बेवास्ता गर्दा उक्त परिणाम आएको उनले बताए । यसबारे धरानका मेयर हर्क साम्पाङ, योजना महाशाखा प्रमुख सुरज श्रेष्ठ, सडक विभागलाई जानकारी गराइसकेको उनको भनाइ छ ।
Discussion about this post