विराटनगर । मोरङको सुन्दरहरैँचामा एक पुरुषले आइतबार खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको बीभत्स हत्या गरेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् ।
लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको डीएसपी बस्नेतले बताए । उनका अनुसार उपचारका क्रममा १२ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
लक्ष्मणले श्रीमतीलाई जथाभावी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट अनुसार, टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । प्रहरीका अुसार अंश विवादका कारण पवित्राको हत्या भएको पत्ता लागेको छ । श्रीमान–श्रीमतीले नै यसअघि अदालतमा एकअर्काविरुद्ध मुद्दासमेत हालेका थिए । पछि दुवै जना मिलेर बस्नेगरी मिलापत्र भएको थियो ।
पवित्राको माइती मोरङको लेटाङ हो । प्रहरीका अनुसार श्रीमानले १६ धुर जग्गा किनेर श्रीमतीको नाममा पास गरिदिएका थिए । दुई जनाबीच झगडा भएपछि पवित्रा वैशाखदेखि माइततिर गएर बस्न थालेकी थिइन् । त्यसपछि लक्ष्मणले अदालतमा जग्गा रोक्का सम्बन्धी मुद्दा हालेका थिए । पवित्राले पनि सम्बन्धविच्छेद, घरेलु हिंसा र मानोचामल सम्बन्धी मुद्दा दर्ता गरेको पाइएको छ । प्रहरीका अनुसार अदालतले दुवै जनालाई छलफलमा बोलाएर मुद्दामा मिलापत्र गराएको खुलेको छ ।
जग्गा दुवै जनाको संयुक्त नाममा हुने र आगामी दिनमा मिलेर सँगै बस्ने भनी अदालतले साउन १० गते मिलापत्र गराएको प्रहरीको भनाइ छ । मिलापत्रपछि दुवै जनाले मुद्दा फिर्ता लिएका थिए । त्यसपछि पनि पवित्रा माइतीतिरै बस्न थालेपछि दुई जनाबीच सम्बन्ध झन् बिग्रिएको प्रहरीको भनाइ छ ।
माइतीमा बसिरहेकी पवित्रालाई अब मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर हत्या गरेको पाइएको डीएसपी बस्नेतको भनाइ छ । उनका अनुसार बिहान खाना खाने बेला भएपछि विवाद झिकेर लक्ष्मणले श्रीमतीको हत्या गरेको खुलेको छ । पत्नीको हत्यामा संलग्न लक्ष्मण खुकुरीसहित पक्राउ परेका छन् ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ । लक्ष्मणविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने डीएसपी बस्नेतले बताए । लक्ष्मणले पनि श्रीमतीसँग झगडा परेको र सहन नसकेर खुकुरीले प्रहार गरेको प्रहरीलाई बताएका छन् ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार पवित्रा लक्ष्मणकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनले दोस्रो बिहे गरेको पाइएको छ ।
Discussion about this post