धरान : कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले धरान १३ र २० जोड्ने सर्दु खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका छन् ।
आइतबार धरान १३ देवी मार्गबाट धरान २० चिण्डेडाँडा सडकमा पर्ने सर्दुखोला पुलको समुद्घाटन कार्यक्रम गरिएको हो । पुलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले धरान धार्मिक पर्यटक, कृषि लगायतको सम्भावनाको ठाउँ भएको बताए ।
सबै जातजातिको बसोबास रहेको यस क्षेत्र साँस्कृतिक रूपमा पनि अब्बल रहेको उनको भनाइ थियो ।
‘हाम्रो देशको सम्पति भनेको नै सबै जाति, धर्म, भाषा, संस्कार र संस्कृति रहकाले यसको संरक्षण गर्न सरकारको दायित्व छ,’ उनले भने ।
पुल निर्माण भएपछि धरान २० का कृषकहरूले कृषि उत्पादन बजार पु¥याउन सहज हुने, बालबालिकाहरूलाई विद्यालय आउजाउ गर्न, बिरामीलाई अस्पताल पु¥याउनका साथैे चिन्डे डाँडाबाट देखिने धरानको मनमोहक दृष्य हेर्नमा आन्तरिक पर्यटकसमेत भित्रिन सहज हुने मुख्यमन्त्री कार्कीले बताए ।
प्रदेशले भौतिकसँगै मानवीय विकासमा समेत जोड दिदैं आएकोसमेत उनले बताए ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५ करोड ६६ लाख ८२ हजार ७ सय १२ रुपैंयाको लागतमा पुल निर्माण भएको हो ।
२०७६ सालमा पुलको कार्की बन्धु कन्स्ट्रक्सन प्रा.लि.विराटनगर, मोरङले ठेक्का पाएको थियो । २०७८ सालमा निर्माण गरिसक्ने सम्झौता भएपनि पुल २०८० सालमा मात्र निर्माण सम्पन्न भएको हो । ७६.३ मिटर लम्बाई र ७ मिटर चौडाई भएको पुल ३ ‘स्पाम’को बनेको हो । प्रविधिक सहयोगमा प्रदेश सडक पुल सहयोग इकाई रहेको थियो ।
कार्यक्रममा कोशी प्रदेशका सांसद रमेश कुमार बस्नेत, यशोदा कायस्थ, पूर्व सभामुख प्रदीप भण्डारी, धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post