विराटनगर : भारत तस्करी गर्न लागिएको वन्यजन्तु टोकेसहित एक जनालाई प्रहरीले मोरङको कानेपोखरीबाट पक्राउ गरेको छ ।
लोपोन्मुख एवं संकटापन्न वन्यजन्तु टोकेसहित सुन्दरहरैँचा नगरपालिका–११ का ४० का दीपककुमार चौधरी गत शुक्रबार पक्राउ परेका हुन् ।
भारतीय नागरिकलाई बिक्री गर्नका लागि टोके बोकेर हिँड्दै गरेको अवस्थामा कानेपोखरी गाउँपालिका–७ बाट चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार चौधरीले बोकेको ‘ब्याग’बाट बरामद भएको टोकेको उद्धार गरिएको छ ।
चौधरीले प्रयोग गरेको प्रदेश १–०२–०४४ प ५४७७ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चौधरीसहित उद्धार गरिएको टोकेलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सब डिभिजन वन कार्यालय कानेपोखरीको जिम्मा लगाइएको जानकारी डीएसपी दाहालले दिए ।
चौधरी पक्राउ परेर टोके बरामद भएसँगै नेपालबाट पछिल्लो समय भारततिर यसको तस्करी भइरहेको पत्ता लागेको छ । वन कार्यालयका अनुसार छेपारोजस्तै देखिने यो सरिसृप (घस्रेर हिँड्ने) प्रजातिको वन्यजन्तु हो । वन्यजन्तु विज्ञहरु टोकेको अंग्रेजी नाम टोके गेको र वैज्ञानिक नाम गेको गेको रहेको बताउँछन् । उनीहरुका अनुसार टोकेलाई रंग फेर्ने छेपारो भनेर पनि चिनिन्छ ।
सब डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख एवं वन अधिकृत मोहम्मद अलाउद्धिन टोके अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा बिक्री हुने वन्यजन्तु रहेको बताउँछन् । पूर्वी नेपालबाट पछिल्लो समय भारततिर टोकेको तस्करी हुने गरेको यो घटनाले पुष्टि गरेको उनको भनाइ छ । भारतको बाटो भएर बंगलादेशलगायतका मुलुकमा यसको तस्करी भइरहेको बताइन्छ ।
भारतीय तस्कर अतिउल्लास केही वर्षअघि पक्राउ परेका थिए । टोकेको तस्करी गर्ने भारतीयको सञ्जाल नै रहेको बताइन्छ । केही समय अघिसम्म पूर्वी नेपालबाट यसको तस्करी धेरै हुन्थ्यो । तस्करीका कारण यसको अस्तित्व नै संकटमा पर्ने र टोके लोप हुने देखिएपछि कडाइ गरिएको थियो । बीचमा रोकिएको तस्करी पुनः सुरु भएको पाइएको वन अधिकृत अलाउद्धिनको भनाइ छ ।
उनका अनुसार टोके नेपाल, भारत, भुटान, बंगलादेश, फिलिपिन्स, मलेसिया तथा इन्डोनेसियालगायतका केही सीमित देशमा मात्रै पाइन्छ ।
‘टोके लोपोन्मुख एवं संकटापन्न सरिसृप प्रजातिको वन्यजन्तु हो । छेपारोजस्तै देखिन्छ । बढीमा ५ सय ग्रामसम्म यसको तौल हुन्छ । रातको समयमा सुनजस्तै टल्किन्छ । बिना इजाजत पाल्न, बेचबिखन गर्न र ओसारपसार गर्न पाइँदैन,’ अलाउद्धिन भन्छन् ।
उनका अनुसार प्रहरीले उद्धार गरेको टोकेको लम्बाई ३५ सेन्टिमिटर र तौल १ सय १० ग्राम छ । किरा यसको मुख्य आहारा हो । ‘पूर्वी नेपालका सुनसरी, मोरङ र झापाका जंगलमा टोके पाइने गरेको छ । सखुवा (साल) भएको जंगल यसको मुख्य वासस्थान हो,’ अलाउद्धिन भन्छन्, ‘यदाकदा काठका पुराना घरहरुमा पनि पाइन्छ । तर, धेरै कम संख्यामा ।’
उनका अनुसार पक्राउ परेका चौधरीविरुद्ध संकटापन्न वन्यजन्तु तथा वनस्पति ऐन, २०७३ अनुसार मुद्दा चलाउन अदालतबाट म्याद गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ । यो मुद्दामा कसुर ठहर भए २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको अलाउद्धिन बताउँछन् । डिभिजन वन कार्यालय मोरङले यसको थप अनुसन्धानको जिम्मा वन अधिकृत अलाउद्धिनलाई नै दिएको छ ।
अनुसन्धान अधिकृत तोकिएका उनकै नेतृत्वमा वन कर्मचारी र वन विज्ञसहितको टोलीले विस्तृतमा यसको अनुसन्धान अघि बढाएको छ । टोकेको ओसारपसार र कारोबारमा संलग्न व्यक्तिलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने उनी बताउँछन् ।
पक्राउ परेका चौधरीले भने भारत पश्चिमबंगालका रवि दासभन्ने व्यक्तिलाई आफूले बिक्री गर्न लागेको प्रारम्भिक बयान दिएका छन् । ‘टोके लिनलाई कानेपोखरीसम्म म आफैं आउँछु भनेर भनेका थिए । त्यही भएर ल्याइदिएको हुँ । त्यसवापत दासले २० हजार रूपैयाँ दिने सर्त थियो,’ चौधरीको प्रारम्भिक बयान उद्रित गर्दै वन कार्यालय स्रोतले भन्यो ।
तर, चौधरीले २० हजारको कुरा गरेपनि प्रहरीले भने टोके किनबेचका लागि चौधरी र भारतीय नागरिकबीच १६ लाख रूपैयाँमा ‘डिल’ भएको दाबी गरेको छ ।
भारतीय नागरिकसँग १६ लाख रूपैयाँमा कुरा मिलेपछि चौधरीले कानेपोखरीसम्म ल्याइदिएको प्रहरीको भनाइ छ । वन विज्ञहरुका अनुसार भारत पुर्याउँदा तौल र शारीरिक बनावटका आधारमा ८० लाख रूपैयाँसम्ममा किनबेच हुन्छ । प्रहरीले टोके किन्न भनेर आएका भारतीय नागरिकलाई भने पक्राउ गर्न सकेन ।
वन अधिकृत अलाउद्धिन टोकेलाई सरकारी वकिलको निर्देशनमा जंगलमा छाडिसकिएको बताउँछन् । घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनको भनाइ छ । टोकेको तस्करी गर्नेलाई फिलिपिन्समा १२ वर्ष जेल सजाय हुने व्यवस्था छ । सबैभन्दा बढी तस्करी हुने गरेका कारण फिलिपिन्समा टोके लोप हुने अवस्थामा पुगेको बताइन्छ ।
चीनमा क्यान्सरविरुद्धको औषधि बनाउन यसको प्रयोग गर्ने गरेको बताइन्छ । टोके पाल्दा सौभाग्यशाली हुने मान्यतासमेत छ । सौभाग्यशाली हुने मान्यताका कारण धनाड्यहरुले घरमा पाल्ने गरेका छन् ।
तर, बिना इजाजत पाल्न, ओसारपसार र कारोबार गर्न नपाइने वन अधिकृत अलाउद्धिनको भनाइ छ । उनका अनुसार पूर्वी नेपालबाट टोकेको तस्करी हुने गरेका घटना यसअघि पनि सार्वजनिक भएका थिए ।
Discussion about this post