काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका सञ्चालन समितिको अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपालमै सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने संस्था रहेको भन्दै युवाहरू बाहिरिन नपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सबै विद्यार्थीहरूलाई विदेश नगई देशमै बस्न आग्रह गरेका छन् ।
उनले भने,‘नेपाल इन्जिनियरिङ कलेज विशुद्ध सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको शैक्षिक संस्था हो । कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिमार्फत सञ्चालनमा रहेको छ । यसले राम्रो शिक्षा प्रदान गरेको छ र समय अनुसार अन्य विषयहरू पनि सुरुवात गर्ने भएको हुनाले यो बारे सबैलाई जानकारी गराउन अनुरोध गर्न चाहन्छु ।’
उनले पछिल्लो समय कक्षा १२ पास गर्ने बित्तिकै सीप र क्षमता विना विद्यार्थीहरू उच्च शिक्षाको नाममा विदेश जाने प्रवृत्ति बढेको पनि बताए ।
विद्यार्थीहरू आफैँ काम गरेर कमाएर पढ्नुपर्ने, विदेश आएको लाखौँ ऋणको दायित्व पनि वहन गर्नुपर्ने परिस्थिति सृजना हुँदा शारीरिक र मानसिक रूपमा विक्षिप्त बन्दै गलत बाटोमा हिँड्न सक्ने सम्भावना पनि रहेको उनको भनाई छ ।
उनले नेपालको शिक्षा अन्तर्राष्ट्रियकरण रहेको भन्दै नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरू विश्वका धेरै देशहरूमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको भन्दै प्रश्न उठाउने ठाउँ नरहेको बताए ।
Discussion about this post