काठमाडौँ : अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चिकित्सा शिक्षा अध्ययन अन्तर्गत एमबिबिएस अध्ययन सुरु गर्न बाटो खुलेको छ। अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ।
गत साउन २७ मा आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गरेका थिए।
मन्त्रालयले ५ करोड विनियोजन गरे पनि थप श्रोत सुनिश्चित नहुँदा पढाइ सुरु गर्न सकिएको थिएन। मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित भएको हो।
दुवै प्रतिष्ठानले ५ वर्षअघि पूर्वाधार विकास गरेर बसेका थिए। तर मन्त्रालयगत बजेट नै नआउँदा अध्ययनको प्रक्रिया अघि बढ्न सकेको थिएन।
अब चिकित्सा शिक्षा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबिबिएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ। सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ।
Discussion about this post