धरान : तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता २०८१ आगामी असोज ३ गतेबाट शुरु हुने भएको छ ।
आइतबार (आज) पत्रकार सम्मेलन गर्दै सञ्जीवनी केन्द्रले आगामी असोज ३, ४ र ५ गते प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले बताए । प्रतियोगितामा सहभागि टिम तथा खेलाडिहरु पुनःस्र्थापना केन्द्रको प्रतिनिधित्व भएर सहभागिता जनाउन पर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको भिन्नाभिन्नै प्रतिस्पर्धा हुनेछ । भेट्रान टिममा ४० वर्ष पुगेका दुई जना र बाँकी खेलाडी ४२ वर्ष माथिका हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा धरान, पोखरा, काठमाण्डौ, चितवन, झापा, मोरङ्ग, भुटान, भारतका सिलगुडी, सिक्किम, दार्जिलिङ्ग, ग्यान्टोक लगायतका सहरबाट टिम सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ओपन रिकभरिङतर्फ प्रथम पुरस्कार नगद दुई लाख, दोस्रो पुरस्कार नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने ताम्राकारले बताए ।
यसैगरी भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रहेको छ भने महिलातर्फ प्रथम पुरस्कार नगद २० हजार र दोस्रो पुरस्कार नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद पाँच हजार प्राप्त गर्नेछन् । ओपन रिकभरिङ प्रतियोगितातर्फ सेमिफाइनलदेखि म्यान अफ द म्याच पुरस्कार प्रदान गरिनेछ ।
म्यान अफ द म्याचले नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा कुल १५ लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
केन्द्रले यसअघि पहिलो र दोस्रो संस्करण आयोजना गरिसकेको छ ।
युवाहरूलाई लागूऔषध दुव्र्यसनीबाट मुक्त गराउन तथा परामर्शका लागि २०६५ सालमा स्थापना भएको सञ्जीवनी केन्द्रले धरान, पोखरा, काठमाण्डौ, मोरङ, झापा लगायत भारतका विभिन्न स्थानका लागूऔषध दुव्र्यसनीमा फसेका दुई हजार भन्दा बढी युवाहरूलाई परामर्श तथा उपचार गरेको अध्यक्ष ताम्राकारले बताए ।
Discussion about this post