इलाम / इलाम नगरपालिका ४ बरबोटेमा एक नम्वर प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । भर्खरै गठन भएको बरबोटे ब्याडमिन्टन क्लवले प्रतियोगिता आयोजना गर्न लागेको हो । फागुन १८ देखि २० गते सम्म सञ्चालन हुने प्रतियोगिता बहुउद्देश्यीय कवर्डहलमा हुने बताइएको छ । प्रतियोगिता सफल बनाउन आयोजकले बिभिन्न पक्षसँग छलफल गरिरहेको छ ।
जिल्लामा हुने ब्याडमिन्टन प्रतियोगिता मध्येकै यो सबैभन्दा ठुलो प्रतियोगिता भएको बताइएको छ ।
इलाम बजार भन्दा बाहिर अर्थात (इलामबाट पाँच किलोमिटर टाढा) बरबोटेमा प्रतियोगिता हुने भएपछि केही चुनौती समेत रहेको आयोजकको भनाई छ ।
प्रतियोगितालाई भब्य रुपमा सफल बनाउन जिल्ला स्थित सञ्चारकर्मी, होटल ब्यवसायी, निर्माण ब्यवसायी लगायत सरोकारवाला निकायसँग छलफल भइरहेको आयोजक बरबोटे ब्याडमिन्टन क्लवका सचिव राजन दाहालको भनाई छ । प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडी तथा टीम सहभागिता गराउने र उनीहरुको सहजताका लागि आयोजकले काम गरिरहेको उनको भनाई छ ।
प्रतियोगितामा मेन्स डबल, भेट्रान्स र जिल्ला स्तरीय छुट्टाछुट्टै प्रतियोगिता सञ्चालन गरिने छ ।
मेन्स डबल प्रतियोगिताको प्रथम ३० हजार, दोस्रो २० हजार र तेस्रो सात हजार पाँच सयका दरले वितरण गरिने छ । तेस्रो पुरस्कार दुई वटा टिमले पाउने बताइएको छ । त्यस्तै भेट्रान्स र जिल्ला स्तरीय प्रतियोगिताको प्रथम २५ हजार, दोस्रो १५ हजार र तेस्रो पुरस्कार पाँच/पाँच हजार रुपैया रहेको छ ।
पर्यटकिय जिल्ला इलाममा चहलपहल बढाउन समेत प्रतियोगिताले मद्धत गर्ने आयोजक क्लबका अध्यक्ष गृष्म सुब्बाको भनाई छ ।प्रतियोगितामा भाग लिन इच्छुक टीमले फागुन १७ गते सम्म सम्पर्क गर्न सक्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न आठ लाख माथी खर्च हुने अनुमान गरिएकोे छ ।
Discussion about this post