इलाम : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याकंनमा कोशी प्रदेशभरिमा इलाम नगरपालिका पहिलो भएको छ ।
आर्थिक वर्ष ०७९र०८० मा गरेको मूल्याकंनमा इलाम कोशी प्रदेशकै पहिलो भएको हो भने देशको पाँचौँ भएको छ । सूर्योदय नगरपालिका प्रदेशभरकै दोस्रो भएको छ ।
देशको उत्कृष्ट पाँचमा इलाम नगरपालिका छ भने सूर्योदय छैटौँ भएको छ । इलाम नगरपालिकाले ८९ दशमलव ५० अङ्क प्राप्त गरेको छ भने सूर्योदय नगरपालिकाले ८८ दशमलव २५ अङ्क प्राप्त गरेको छ ।
शासकीय प्रबन्धमा इलामले ८ र सूर्योदयले ८ दशमलव ७५ अङ्क पाएका छन् । सङ्गठन तथा प्रशासनमा इलामले ७ दशमलव ७५ र सूर्योदयले ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा इलामले ८ दशमलव ५ र सूर्योदयले ८ दशमलव ७५, वित्तीय आर्थिक व्यवस्थापनमा इलामले १० र सूर्योदयले १० दशमलव २५ ल्याएका छन् ।
सेवा प्रवाहमा इलामले १४ दशमलव २५ र सूर्योदयले १४ दशमलव २५, न्यायिक कार्य सम्पादनमा इलाम र सूर्योदय दुवैले ७–७, भौतिक पूर्वाधारमा इलामले १० र सूर्योदयले १० दशमलव २५, सामाजिक समावेशीकरणमा इलामले १० र सूर्योदयले ८ दशमलव ७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा इलामले ८ दशमलव ५ र सूर्योदयले ७ दशमलव २५, सहकार्य र समन्वयमा इलामले ५ दशमलव ५ र सूर्योदयले ६ अङ्क प्राप्त गरेका छन् ।
Discussion about this post