इलाम / इलाम नगरपालिकामा प्लास्टिक प्रतिबन्ध छ । यहाँ प्लासिष्टकको झोला समेत प्रयोग गर्न पाइँदैन । यता इलाम नगरपालिका–४ ले आफ्नो वडामा पर्ने पुवा खोलामा मानव शवको दाहसंस्कारमा गाडीको टायर तथा प्लास्टिकजन्य पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
प्रायः धेरै स्थानमा पछिल्लो समय मानव शरीरको दाहसंस्कार गर्दा चाँडो शव जलाउँदा घाटहरूमा दाउरासँगै टायर र प्लास्टिकजन्य पदार्थको प्रयोग गर्ने गरिएको छ ।
तर टायर र प्लास्टिकजन्य पदार्थले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने भएकाले यसको प्रयोगमा पूर्ण प्रतिबन्ध गरेर परम्परागत ढङ्गबाट शव जलाउन सबैलाई आग्रह गरिएको इलाम –४ का वडाध्यक्ष नूतनदेव दुलाले बताए ।
‘पछिल्लो समय टायर हालेर आगो लगाउने र शव जलिनसकि छाडेर हिँड्ने प्रचलन बढेकाले समुदायमा त्रास बढ्ने र त्यस कार्यले वातावरण प्रदूषणमा समेत असर गरेको पाइयो’ इलाम नगरपालिका प्रवक्तासमेत रहनुभएका दुलालले भने ।
दुलालले पुरानै अर्थात्, कपुर, घिउ तोरी, तिल, चिनीको प्रयोग गर्न र शव सकिएपछि चित्ता पखालेर मात्र छोड्न आग्रह गरेका छन् । शवको दाहसंस्कार गर्न सहयोग आवश्यक परे जनप्रतिनिधि र टोल विकास संस्थाले समेत सहयोग गर्ने बताइएको छ ।
वडा कार्यालयले सार्वजनिक सूचना निकालेर समुदायलाई शव जलाउने विषयमा सचेत गराएको छ ।
Discussion about this post