विराटनगर : मोरङमा शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएकी छन् । जिल्लाको पथरीशनिश्चरेबाट प्रहरीले विद्यार्थीलाई कुटपिट गर्ने एक जना शिक्षकलाई बिहीबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे नगरपालिका–९ स्थित श्री सिंहवाहिनी माध्यमिक विद्यालयका शिक्षक पवन राईलाई पक्राउ गरिएको हो । पवनको कुटाइबाट विद्यालयको कक्षा १० अध्ययनरत छात्रा घाइते भएकी छन् ।
शिक्षकले प्लाष्टिकको पाइपले कुटपिट गर्दा १७ वर्षीया जस्ना राई घाइते भएको डीएसपी दाहालले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कक्षा कोठामा विद्यार्थीबीच भएको विवाद मिलाउन शिक्षक पुगेका थिए ।
विद्यार्थीलाई सम्झाइबुझाइ गर्ने क्रममा शिक्षकसँग पनि विवाद गरेको भन्दै बिहीबार (आज) दिउँसो ४ बजेतिर छात्रामाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।
घाइते छात्राको पाखुरामाथिको पातामा चोट लागेको छ । उनलाई उपचारका लागि पथरी अस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य रहेको डीएसपी दाहालले बताए ।
छात्रालाई कुटपिट गर्ने शिक्षकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post