इटहरी : इटहरीमा एक प्रधानाध्यापकले करिब ८० लाख रुपैयाँ रकम घोटाला गरेको घटनामा उपमहानगरपालिकाले ‘चोख्याएको’ छ ।
इटहरी १४ मा रहेको श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले उपमहानगरबाट गएको करिब ८० लाख बढी रकम घोटाला गरेको घटनामा प्रअ तिम्सिनालाई उपमहानगरले ‘चोख्याएको’ हो ।
विद्यालयलाई जानुपर्ने भन्दा करिब ८० लाख बढी रकम उपमहानगरबाट गएपछि प्रअ तिम्सिनाले २२ महिनासम्म उक्त रकमबारे कुनै जानकारी नगराइकन घोटाला गरेका थिए । उक्त रकम घोटाला गरेको प्रमाणसहित पहिलोपटक प्रदेश खबरले समाचार सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएसँगै इटहरी उपमहानगरपालिकाले छानबिन समिति बनायो ।
लेखा अधिकृत लखन चौधरीको संयोजकत्वमा प्रशासन अधिकृत सञ्जीव खड्का र कानुन अधिकृत कमलराज पोखरेल सदस्य रहनेगरी छानबिन समिति बनाएको थियो । उक्त समितिले बिहीबार (२०८१ भदौ १३ गते) प्रतिवेदन बुझाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई छानबिन समितिले प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा बढी गएको रकम बुझाउनुपर्ने भएकाले यसअघि नै बुझाइसकिएको उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत मेहताले भने, ‘आज चार पृष्ठको प्रतिवेदन प्राप्त भएको छ । सबै पैसा हर्जनासहित बुझाएको र भुलवश उपमहानगरबाट पैसा गएको कुरा प्रतिवेदनमा उल्लेख छ ।’
उनका अनुसार छानबिन समितिले साउन ३२ गतेसम्म प्रतिवेदन बुझाइसक्नुपर्ने थियो । त्यसअघि साउन ३० गतेभित्रै रकम घोटाला गर्ने प्रधानाध्यापक तिम्सिनाले १० प्रतिशत हर्जनासहित रकम बुझाएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
‘यति–यति रकम, यो मितिमा बुझाएको र भौचर नम्बरसहित उल्लेख गरेर प्रतिवेदनमा राखिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत मेहता भन्छन्, ‘सरकारी ब्याजसरह सबै रकम फिर्ता भएपछि यो मुद्दाको टुङ्गो लागेको छ ।’
उक्त रकम बेरुजु रकम रहेको भन्दै हिनामिना गरेको नभइ त्रुटिका कारण बढी रकम गएको उनको प्रष्टोक्ति छ । ‘हाम्रो लक्ष्य चैँ सो रकम जम्मा होस् भन्ने थियो । सरकारको पैसा जसरी पनि जम्मा हुनुपर्छ भन्ने नै हाम्रो मुख्य मुद्दा थियो,’ उनले प्रदेश खबरसँग भने, ‘खासमा छानबिन समिति नबनाएको भए पैसा फिर्ता नहुन पनि सक्थ्यो । तर, छानबिन समिति बनाएपछि थ्रेट भएका कारण प्रतिवेदन आउनुअघि नै पैसा जम्मा भयो ।’
आन्तरिक लेखा परीक्षणबाट सो रकम बढी गएको खुलेपछि घटना सामसुम बनाउने प्रयास गरिएको थियो । तर, समाचार बाहिरिएसँगै प्रअ तिम्सिना भने छटपटीमा परेका थिए ।
अब प्रअलाई के कारबाही हुन्छ ? भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत मेहताले भने, ‘अब सबै पैसा बुझाएका कारण टुङ्गिएको छ । स्थायी शिक्षक भएका कारण र बेरुजु रकम जम्मा भएकाले अब केही हुँदैन ।’
खासगरी प्रअ तिम्सिनालाई थ्रेट गर्नका लागि छानबिन समिति बनाएको उनको भनाइ छ । ‘आजकाल त मान्छे गलत गरेपनि डराउँदैनन् । खासमा थ्रेट गर्नका लागि पनि छानबिन समिति बनाएका थियौँ,’ उनले भने, ‘अब सबै पैसा बुझाइसकेको अवस्था छ । छानबिन समितिले अहिलेसम्म भएका सबै गतिविधि समेटेर तथ्याङ्सहित प्रतिवेदन बुझाएको छ ।’
उपमहानगरका कर्मचारीबाट भुलवस उक्त रकम विद्यालयको खातामा गएपनि जानकारी नगराएको र आन्तरिक लेखापरीक्षणबाट पत्ता लागेपछि सरकारी ब्याज सो सरह रकम फिर्ता गरिसकेकाले अब मुद्दाको किनारा लागेको मेहताले बताए ।
प्रअ तिम्सिनाले भने साउन ७ र साउन १४ को मितिमा सात–सात लाख र साउन ३० को मितिमा ६४ लाख ६५ हजार र साउन ३० कै मितिमा सात लाख ८६ हजार तीन सय रकम उपमहानगरलाई फिर्ता गरेको उनले बताए ।
यसअघि समाचार सार्वजनिक भएसँगै प्रअ तिम्सिनाले स्थानीय अभिभावक, विद्यालय व्यवस्थापन समितिसँग भने आफूबाट गल्ती भएको स्वीकार गर्दै बचाइदिनसमेत आग्रह गरेका थिए । ‘म बाट गल्ती भयो, मेरो पद र जागिर जोगाइदिनुहोस्’ भन्दै उनले हारगुहार गरेका थिए ।
उपमहानगर स्रोतकाअनुसार आर्थिक वर्ष २०७९।८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले श्री शान्ति सिर्जना माध्यमिक विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम भुक्तानी गर्नुपर्ने थियो । तर, उपमहानगरबाट ७८ लाख ६३ हजार बढी गएको थियो । ८,७३,६८३ रुपैयाँ जानुपर्ने रकम ट्रान्सफरको क्रममा एउटा ६ बढी थिचिएका कारण सो रकम बढी गएको उपमहानगरले दाबी गर्दै आएको छ ।
खासगरी छानबिन समितिले प्रअ तिम्सिनालाई चोख्याएपछि सरोकारवाला निकायले भने आपत्ति जनाएका छन् ।
उक्त रकम घोटाला भएपछि बिहीबार (आज) मात्रै संसदमासमेत कुरा उठेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीले संसदमा बोल्दै उपमहानगरका ‘कर्मचारीकै सेटिङ’मा उक्त रकम बढी गएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
‘इटहरी उपमहानगरपालिकाले विद्यालयलाई उपलब्ध गराउनुपर्ने भन्दा बढी रकम भुक्तानी भएपछि २२ महिनासम्म प्रअले कुनै जानकारी गराएनन्,’ संसदमा बोल्दै सांसद चौधरीले भने, ‘यो लापरबाही भन्दापनि उपमहानगरको मिलेमतोमा भएको सर्वसाधारणले आशंका गरेका छन् । समाचार बाहिरिएपछि बढी गएको रकम फिर्ता गरेर घटनाबाट उम्कने प्रयत्न गरिएको छ ।’
हरेक स्थानीय तहमा भ्रष्टाचार भइरहने र सरकार पनि मूकदर्शक भइरहने हो भने यो राज्य व्यवस्था कसरी चल्छ ? भनेर उनले प्रश्नसमेत गरे ।
‘विभिन्न नाममा बारम्बार भ्रष्टाचार गरिरहने र राज्यको दोहन सम्पत्ति दोहन गरिरहने अपराधीहरूलाई इन्तु, किन्तु, परन्तु केही नभनीकन कारबाही सुरु गर्नुपर्छ,’ उनले भने, ‘आफू असफल भएर राज्य चलाउनु भनेको देश र जनताप्रतिको ठूलो अन्याय हो । इटहरी उपमहानगरमा देखिएको र नदेखिएको सबै किसिमका भ्रष्टाचार छानबिन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले स्थानीय तहमा महामारी रूपमा फैलिइरहेको भ्रष्टाचारलाई नीतिगत र संस्थागत परिवर्तन गरी रोक्नुपर्ने बताए ।
कर्मचारी मुछिने डरले प्रअलाई ‘चोख्याइयो’
खासगरी इटहरी उपमहानगरपालिकाका कर्मचारीहरू मुछिने डरले प्रअ तिम्सिनालाई चोख्याइएको जानकारहरू बताउँछन् ।
यो घटनालाई नजिकबाट नियालिरहेका एक जानकार भन्छन्, ‘उपमहानगरकै कर्मचारीको चरम लापरबाहीका कारण बढी पैसा भुक्तानी भयो । बढी पैसा भुक्तानी भएको २२ महिनासम्म थाहा नहुनु र खोजी नगरिनुले पनि कर्मचारी संलग्न हुनसक्ने आशंका गर्न सकिन्छ ।’
उपमहानगरकै कर्मचारीहरूको गल्तीका कारण बढी रकम भुक्तानी भएपछि झारो टार्नका लागि मात्रै छानबिन समिति बनाइएको उनको आरोप छ ।
‘खासमा भन्ने हो भने यो छानबिन समिति झारो टार्नका लागि बनाइएको हो,’ उनले भने, ‘उपमहानगरबाटै टिप्पणी उठेर बढी रकमबारे कर्मचारीहरू पनि तैँ चुप, मै चुपको अवस्था भयो ।’
इटहरी उपमहानगरको शिक्षा शाखाबाट टिप्पणी उठेपछि शिक्षा अधिकृत हुँदै प्रमुख प्रशासकीय सम्मले तोक लगाएर लेखा शाखाबाट भुक्तानी भएको थियो । छानबिन गर्दा प्रअ तिम्सिनालाई मात्रै दोष देखाउन नमिल्ने र कर्मचारीहरू पनि मुछिने डर भएका कारण चोख्याइएको जानकारहरू बताउँछन् ।
‘हस्ताक्षर नै दुरुपयोग गरी रकम झिकेका थिए, तर नेताको सोर्सका कारण चोख्याइयो’
विद्यालयको खाता २२२०१००००१३९६०१ नम्बरमा संघीय सरकारको बजेटबाट उक्त रकम जम्मा भएको थियो ।
इटहरीका ३६ वटै सामुदायिक विद्यालयलाई उपमहानगरले २०७९ असोज ५ गते राष्ट्रिय वाणिज्य बैँकको खातामार्फत कुल ६ करोड ३० लाख ६१ हजार ६६० रुपैयाँ जम्मा गरेको थियो ।
जसमध्ये शान्ति सिर्जना माध्यमिक विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने थियो । तर, उपमहानगरबाट भने ७८ लाख ६३ हजार बढी रकम भुक्तानी भयो । उक्त रकम भुक्तानी भएको २२ महिनासम्म प्रअ तिम्सिनाले जानकारी गराएनन् ।
त्यसो त सो रकम आएको विद्यालय व्यवस्थापन समितिलाई पनि थाहा भएन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्तुल मियाँका अनुसार विद्यालयका लेखापाललेसमेत थाहा नहुनेगरी प्रअ तिम्सिनाले कीर्ते हस्ताक्षर गरी रकम अपचलन गरेका थिए । रकम अपचलन गरेको आफूहरूलाई समाचारमार्फत मात्रै थाहा भएपछि कारबाही गर्न उपमहानगरलाई जानकारी गराइएको थियो ।
यसरी कीर्ते हस्ताक्षर गरी पैसा झिकेको थाहा हुँदाहुँदै पनि प्रअ तिम्सिनालाई चोख्याइएपछि उपमहानगरको नियतमाथि नै प्रश्न उब्जिएको छ ।
त्यसो त प्रअ तिम्सिना नेतागिरी गर्छन् । उनी शिक्षकको नेता भन्दै शक्ति प्रस्तुत गर्न चाहने व्यक्ति हुन् । नेकपा एकीकृत समाजवादी निकट रहेका उनी नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्यसमेत हुन् ।
एकीकृत समाजवादी निकट प्रगतिशील राष्ट्रिय शिक्षक संगठनबाट प्रतिनिधित्व गर्दै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टीको शक्तिमा उनले थप दबदबा देखाउँदै आएका छन् ।
पार्टीका नेताहरूकै दबाबका कारण पनि प्रअ तिम्सिनालाई चोख्याइएको स्रोतले जनाएको छ । ‘उनी नेता हुन् । नेताकै सोर्सका कारण चोख्याइएको हुनसक्छ,’ प्रअ तिम्सिना निकट एक व्यक्ति भन्छन्, ‘उनीसँग जोडिएका अरू विषय पनि छन्, त्योबारे पनि कुनै न कुनै दिन सार्वजनिक होला ।’
यो पनि – इटहरीमा प्रअद्धारा ‘घोटाला’ प्रकरण : निलम्बनको मागसहित आज उपमहानगरमा पत्र बुझाइने
यो पनि – इटहरीमा प्रअद्धारा ८० लाख ‘घोटाला’ प्रकरण : विद्यालयबाट बिल, भौचर, चेक र माइन्युट ‘जफत’
यो पनि – सम्पादकीय : राज्यको पैसा ‘घोटाला’ गर्ने प्रधानाध्यापकमाथि निष्पक्ष छानबिन गर
Discussion about this post