'प्रचण्ड—प्रभाकर'को टुटेको दोस्ती

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौं : मुलुकको वाम राजनीति फेरि एकपटक निर्णायक मोडमा पुगेको संकेत देखिएको छ । एकातिर माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको दिशामा देश अघि बढ्ने वातावरण बनेको दाबी गरेका छन् भने, अर्कातिर पूर्वउपमहासचिव जनार्दन शर्मा(प्रभाकर) र पूर्वसचिव राम कार्कीले ‘प्रगतिशील अभियान’ सुरु गर्दै समाजवादी ऐक्यबद्धताको नयाँ नारा उचालेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले नौ वटा वाम घटकबीच एकता प्रक्रियाबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनःध्रुवीकरण गरिँदै समाजवादी क्रान्तिको वातावरण निर्माण भइरहेको बताए । अहिलेको राजनीतिक अस्थिरता, जेनजी आन्दोलन र आर्थिक सङ्कटको बीचमा समाजवादी क्रान्तिको सैद्धान्तिक बाटो आवश्यक भएको उल्लेख गरे । 

बैठकले विभिन्न नौ वाम घटकबीच ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ । प्रवक्ता अग्नि सापकोटाका अनुसार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी)लगायत नौ घटकबीच भोलि भृकुटीमण्डपमा एकता घोषणा हुने छ । नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने छ भने चुनाव चिह्न ‘पाँचकुने तारा’ तोकिएको छ ।

यसबीचमा, माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्की भने छुट्टै बाटोमा अघि बढेका छन् । दुवैले ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारा दिँदै ‘प्रगतिशील अभियान’ सुरु गर्ने घोषणा गरेका छन् ।

ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जनार्दन शर्माले पुराना गल्तीबाट सिक्दै समाजवादी ऐक्यबद्धताको नयाँ दिशा खोज्नुपर्ने बताए । 

राम कार्कीले वाम आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादलाई आन्दोलन कमजोर बनाउने मूल कारणका रूपमा चित्रण गर्दै आत्मसमीक्षा र वैचारिक शुद्धता आवश्यक भएको बताए । 

यसरी, एकातिर प्रचण्ड नेतृत्वको बृहत् वाम एकता ‘समाजवादी क्रान्तिको नयाँ सूत्र’का रूपमा प्रस्तुत भइरहेको छ भने, अर्कातिर जनार्दन–कार्की जोडीको ‘प्रगतिशील अभियान’ पुरानो आन्दोलनको आत्मसमीक्षाबाट पुनर्जागरणको प्रयासका रूपमा देखिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार