सुन्दरहरैंचा : जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीपछि देश राजनीतिक अस्थिरता र आर्थिक अनिश्चिततामा छ ।
पूर्वका धेरै स्थानीय तहहरू, विशेषगरी मोरङको सुन्दरहरैंचा नगरपालिका पनि यसबाट अछुतो रहेन । कार्यालयमा आगजनी, सार्वजनिक सम्पत्ति नष्ट र प्रशासनिक सेवामा अवरोध—यी घटनाले स्थानीय सरकारको क्षमतामाथि प्रश्न उठाएका छन् ।
यस्तै संवेदनशील समयमा सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईंले खुलेर आफ्नो धारणा राखेका छन् ।
आन्दोलनका कारण मुलुकको अर्थतन्त्र कमजोर भएको, राष्ट्रिय पुँजी पलायनको खतरा बढेको र अपराधी तत्त्वहरू सक्रिय भएको उनको भनाई छ । साथै, उनले संविधान र लोकतन्त्रको विकल्प नभएको, सबै तहमा रुपान्तरण आवश्यक रहेको र मानव विकासमै दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रस्तुत छ—मेयर गुरागाईंसँग गरिएको विस्तृत कुराकानीको सम्पादीत सामग्री :
आगजनीपश्चात मर्मत–सम्भारको काम कहिलेदेखि सुरु हुन्छ मेयरसाब ?
हामी अर्को हप्ताको सुरुतिरै टेन्डर आह्वान गर्दैछौं । विशेष व्यवस्था अन्तर्गत ७ दिने सूचना निकालिन्छ । योजना यस्तो छ, माघ महिनाभित्र नगरपालिकाभित्रकै स्रोत र जनशक्ति प्रयोग गरेर काम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

हाल नगरपालिकाका सवारी साधनहरूको अवस्था कस्तो छ ?
सवारीसाधनहरू अधिकांश सुरक्षित छन् । दमकलसहितका मुख्य गाडीहरूमा समस्या छैन । तर चारवटा मोटरसाइकल जलेका छन् । तीबाहेक सबै सुरक्षित अवस्थामा छन् ।
करिब नौ करोडको क्षति भएको भनिएको छ, अहिले पुनःनिर्माणको काम कस्तो अवस्थामा छ ?
हो, प्रारम्भिक हिसाबमा करिब नौ करोड रुपैयाँ बराबरको क्षति भएको छ । भित्रका सबै जलेका सामग्री फेर्नुपर्छ, भित्ताको प्लास्टर उखेलेर नयाँ काम गर्नुपर्छ । अहिले विभिन्न सामाजिक संघसंस्था र स्थानीय व्यवसायीहरूले आवश्यक सामग्री र सहयोग पठाइरहनुभएको छ ।
प्रदेश र संघीय सरकारसँग समन्वय भएको छ ?
अहिलेसम्म प्रत्यक्ष समन्वय भएको छैन । तर हामीले गर्नुपर्ने सबै विवरण पठाइसकेका छौं । हाम्रा संस्थागत माध्यमबाट निरन्तर समन्वयको प्रयास भइरहेको छ ।
जेनजी आन्दोलनका क्रममा स्थानीय पालिका आक्रमणमा परे । कतै पालिकाप्रतिको अविश्वासकै कारण हो त ?
हैन, यो सामान्य मानिसको आन्दोलन होइन । यो प्रायोजित रूपमा गरिएको हो । तोडफोडमा संलग्नहरू मध्ये करिब ७० प्रतिशत आपराधिक गतिविधिमा संलग्न व्यक्ति नै हुन् । यस्तो किसिमको हिंसात्मक गतिविधिले आन्दोलनको मर्म बिगार्छ ।

अहिले संविधान नमान्ने, व्यवस्था खारेज गर्नुपर्ने जस्ता कुरा उठिरहेका छन् । तपाईंको दृष्टिमा यो कहाँ पुग्छ ?
संविधान नमान्ने भन्ने कुरा सम्भव नै छैन । यो प्रणालीकै जगमा अहिलेको सरकार बनेको हो । प्रणाली नभएको भए आन्दोलन पनि हुने थिएन । जसले प्रजातन्त्रका लागि जीवन समर्पण गरे, तिनैका कारण यो अवस्था आएको हो ।
त्यसकारण लोकतन्त्रको विकल्प अझ व्यवस्थित र सुदृढ लोकतन्त्र मात्रै हो, अरु केही होइन ।
तर, अहिलेको राजनीतिक अस्थिरता र युवाको असन्तुष्टिले ठूलो चुनौती देखाइरहेको छ नि ?
हो, चुनौती त छ । अहिले सबै तिर आ–आफ्नै कुरा उठिरहेका छन् । कसैले राजतन्त्र चाहन्छ, कसैले अर्को व्यवस्था । तर यो देशले धान्न सक्ने संरचना संविधानमै निहित छ । त्यसकारण सबैले प्रणालीको रक्षा गर्नुपर्छ ।
म त भन्छु, संसद पुनःस्थापना होस्, र सबैको सहभागितामा साझा सहमति बनाएर अघि बढ्न सकिन्छ । तर, संविधान नमान्ने भन्ने कुरा स्वीकार्य छैन ।
नेताहरूमा परिवर्तनको माग उच्च छ । तपाईंको विचारमा रुपान्तरण कति आवश्यक छ ?
नेताहरूमा मात्रै होइन, जनतामा पनि रुपान्तरण आवश्यक छ । हामी सबैमा सुधार हुनुपर्छ । पत्रकारदेखि कर्मचारी, नेता, नागरिक सबैमा सकारात्मक सोच आउन जरुरी छ ।
हामीभित्रको नकारात्मक सोचकै कारण आज घरहरू जल्ने अवस्था आएको हो । यो सोच परिवर्तन गर्न सके सबै सुध्रिन्छ । अनि नेता सुध्रिन सक्दैन भन्ने पनि होइन, सबैमा सुधार सम्भव छ ।
हामीले सबै कुरा सापेक्षिकतामा हेर्नु जरुरी छ । यो आन्दोलनले हाम्रो अर्थतन्त्रलाई निकै कमजोर बनायो ।
उत्पादन घट्यो, लगानीकर्तामा डर पैदा भयो, र राष्ट्रिय पुँजी पलायनको खतरा पनि बढ्यो । कतिपय उद्योगीहरूले त आफ्ना उद्योग विदेश सार्ने सोचसम्म बनाइरहेका छन् ।
बेरोजगारी बढेको छ, जेलका कैदीहरूसम्म छुटाइएका छन्, यस्तो बेलामा देश कुन दिशातिर जान्छ भन्ने कुरा गम्भीर सोचको विषय हो ।
आन्दोलनलाई कसरी हेर्नुभएको छ ?
राजधानी घेर्दैमा राजनीतिक परिवर्तन ल्याउन सकिँदैन । यो सोच खतरनाक छ । आन्दोलनको नाममा अहिले के भइरहेको छ भने बालबालिका, विद्यार्थी र युवालाई प्रयोग गरिएको छ ।
मैले सुनेको छु बालेन शाह र सुधन गुरुङले वितरण गरेको पानीमा ड्रग्स मिसाइएको थियो भन्ने कुरा पनि । यदि त्यस्तो भएको हो भने त्यो त निकै गम्भीर अपराध हो । जेनजी आन्दोलनका नाममा हाम्रा स्कुले नानीबाबुहरूको दुरुपयोग भयो, र अब सत्यहरू बिस्तारै बाहिर आउँदैछन् ।
सरकारको भूमिका कस्तो देख्नुभएको छ अहिले ?
हामी हतास हुनुहुँदैन, तर सत्य के हो भने, अहिलेको सरकारले अपराध रोक्ने इच्छाशक्ति नै देखाएको छैन । अपराधीहरूलाई कारबाही गर्ने हैसियतमा छैन । बरु, सरकार आफैं आपराधिक गतिविधिको मतियार बनेको छ ।
सरकारले गठन गरेको अनुसन्धान आयोगप्रति तपाईंको धारणा के छ ?
त्यो आयोगले कुनै काम गर्न सक्दैन । अहिले त प्रमाण नै मेट्ने काम भइरहेको छ । अपराधीहरू गाउँ–बस्तीमै घुमिरहेका छन् । मैले आयोगकै अध्यक्षलाई पनि भनेको छु — ‘तपाईंहरू प्रमाण मेटाउँदै हुनुहुन्छ’ । यस्तो अवस्थामा यो सरकार, यो आयोग, देशका जनतालाई न्याय दिलाउने बाटो होइन ।
तपाईं लोकतन्त्र र राजनीतिक दलहरूको भूमिका कसरी हेर्नुहुन्छ ?
लोकतन्त्रमा दलको विकल्प छैन । जसलाई जे लागे पनि, व्यक्ति वा भीडले देश चलाउन सक्दैन । राजनीतिक दल नै जनताको प्रतिनिधि संस्था हो । हाम्रा दल कमजोर हुन सक्छन्, तर विकल्प फेरि पनि दल नै हुनुपर्छ ।
नेताहरूको दम्भका कारण अहिलेको अवस्था आएको हो । तपाईं सहमत हुनुहुन्छ ?
म सहमत छैन । राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताका कुरा गर्दा कसरी दम्भ देखिन्छ ? केपी ओलीले कालापानी, लिपुलेकका विषय उठाउँदा त्यो दम्भ होइन, त्यो राष्ट्रिय जिम्मेवारी हो ।
कमजोरीहरू छन् भने सच्याउनुपर्छ, तर देशका हितका विषयमा बोल्ने कामलाई दम्भ भन्न मिल्दैन । हाम्रो देशमा केही शक्तिकेन्द्रहरू यस्ता विषय पचाउन नसक्ने गर्छन् । त्यसैले मैले भन्न चाहन्छु सबैमा सकारात्मक दृष्टिकोण हुनुपर्छ ।

जेनजी आन्दोलन ‘हाईज्याक’ भएको भनिन्छ, तपाईं सहमत हुनुहुन्छ ?
अवश्य । सुधारको नाममा सुरु भएको आन्दोलनलाई केही व्यक्तिहरूले आफ्नो स्वार्थका लागि हाइज्याक गरे । अहिलेको सरकारले सुरक्षा निकायको मनोबलसम्म गिराउने काम गरेको छ । राज्यले गल्ती गर्न सक्छ, तर त्यसको सुधार निर्वाचनबाटै सम्भव हुन्छ । एक जनाको गल्तीका कारण सम्पूर्ण प्रणालीमाथि दोष लगाउनु गलत हो ।
स्थानीय विकासको हिसाबले सुन्दरहरैंचामा तपाई निर्वाचित भएपछि के गर्नुभयो ?
हामीले विकासलाई ‘मानवीय विकास’सँग जोडेर अघि बढाएका छौं । विद्यालय, स्वास्थ्य, बाटोघाटा सबै क्षेत्रमा क्रमिक सुधारका काम भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सुरु हुँदैछ, तीन सय बेडको शिक्षण अस्पताल बन्ने तयारी छ । नदी तटबन्धन, विद्यालय भवन, अस्पताल, पर्यटकीय क्षेत्र सुधार यी सबैमा हामीले काम गरिरहेका छौं ।
अघिल्लो सरकारले थालेका योजनाहरूलाई निरन्तरता दिनुभयो ?
अवश्य । स्थानीय सरकार कुनै व्यक्ति होइन, संस्थागत उत्तराधिकारी हो । जसले कुर्सीमा बस्छ, जिम्मेवारी निरन्तर रहन्छ । त्यसैले कानुनसंग ढंगका अघिल्ला सरकारका योजनाहरूलाई हामीले अघि बढाएका छौं ।
तपाईंको व्यक्तिगत नेतृत्व शैली कस्तो छ भन्ने जनताको बुझाइ के हो ?
म मेयर भएपछि मेरो स्वभावमा कुनै परिवर्तन आएको छैन । मैले सिसा लागेको गाडी चलाउन छोडेँ, मेयर कक्षको गोप्य कोठा हटाएँ, सुरक्षागार्ड बिना काम गर्छु । जनतामाझ साधारण नागरिकझैँ बस्ने मेरो प्रयास हो । आन्दोलनका बेला मेरो घर जलाउन पुगेका मानिसहरूले समेत भनेका रहेछन्, ‘यो त कंगाल मेयरको घर रहेछ’ । मलाई त्यही सामान्य जीवनमा रमाउन मन पर्छ ।
बाँकी रहेको डेढ वर्ष कसरी प्रयोग गर्ने योजना छ ?
अबको समय मानव विकासमा केन्द्रित हुनेछ । हामीले बुझ्यौं, भौतिक विकास मात्र अस्थायी रहन्छ । त्यसैले शिक्षामा सुधार, विद्यालय मर्जर, गुणस्तर शिक्षा र समुदायमा सकारात्मक सोच निर्माणमा जोड दिनेछौं । सुन्दरहरैंचालाई आत्मनिर्भर र सहकार्यमा आधारित समाज बनाउन मेरो ध्यान त्यतै छ ।
अन्त्यमा, देशको राजनीतिक दिशाबारे तपाईंको सन्देश ?
देशले लोकतन्त्रकै बाटो समात्नुपर्छ । संविधान नमान्ने, व्यवस्था उल्ट्याउने कुरा असम्भव र हानिकारक छन् । यो प्रणाली नै हाम्रो अस्तित्वको आधार हो । सबैमा रुपान्तरण आवश्यक छ । नेता, जनता, पत्रकार सबैमा । नकारात्मक सोच मेटाएर सकारात्मक ऊर्जा लिएर अघि बढ्न सकेमात्रै देश बन्छ ।
प्रतिक्रिया