इन्टरनेट मर्मतका क्रममा करेन्ट लाग्दा २१ वर्षीय आशिषको मृत्यु

विहीबार, २० कार्तिक २०८२

झापा । झापाको शिवसताक्षी नगरपालिका–१ का २१ वर्षीय आशिष खनालको इन्टरनेट केबल जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुभाष केसीका अनुसार खनाल फर्स्ट लिङ्क इन्टरनेट नामक निजी इन्टरनेट सेवा प्रदायक कम्पनीमा कार्यरत थिए। कार्तिक ११ गते पोलमा इन्टरनेट केबल टाँग्ने क्रममा उनलाई उच्च भोल्टेजको तारबाट करेन्ट लागेको थियो।

गम्भीर घाइते भएका खनाललाई तत्कालै दमकस्थित आम्दा अस्पताल लगिएको थियो। त्यहाँ उपचारपछि विराटनगरको नोबेल मेडिकल कलेजमा रेफर गरिएको थियो। नोबेलमा भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा स्वास्थ्य अवस्था अत्यन्त जटिल भएपछि उनलाई घर फर्काउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीले मुचुल्का सङ्कलन गरी शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ। मृतक खनाल शिवसताक्षीका चर्चित पण्डित आचार्य गोकुल खनालका कान्छा छोरा हुन्।

स्थानीयवासीको अनुसार आशिष इमानदार र परिश्रमी स्वभावका थिए। उनको असामयिक निधनले गाउँभर शोकको छायाँ छाएको छ। परिवार, सहकर्मी र समुदायका सदस्यहरूले उनको आत्माको चीरशान्तिको कामना गर्दै गहिरो समवेदना प्रकट गरेका छन्।

यस घटनाले इन्टरनेट मर्मत तथा विस्तारका काममा संलग्न मजदुरहरूले उचित सुरक्षा सामग्री र मापदण्डको पालना नगरी जोखिमपूर्ण कार्य गर्नुपरेको अवस्थाप्रति स्थानीयले गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले भविष्यमा यस्ता दुर्घटना रोकथामका लागि सम्बन्धित निकायले स्पष्ट नीति र निगरानी व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार